एजेन्सी, साउन १० । पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले अग्रता लिएको छ ।
औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन् ।
पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ । त्यस पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजालाई राजनीतिक र कानूनी दुवै चुनौती दिने चेतावनी दिएका छन् ।
पाकिस्तानमा राष्ट्रिय विधायिका (न्याशनल एसेम्बली) का २७२ स्थानका लागि बुधबार मतदान भएको थियो । त्यसमध्ये ७० स्थान महिला तथा अल्पसंख्यकहरूका लागि आरक्षित छ । चुनावका लागि देशभरि सुरक्षा व्यवस्था कडा पारिएको भनिएका बेला क्वेटा शहरमा एउटा विस्फोट गराइँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।
सन् २०१३ को चुनाव जिते पनि शरिफको पार्टीले बहुमत ल्याउन सकेको थिएन । पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले भने मतगणनामा अनियमितता भइरहेको दावी गरेका छन् ।
