काठमाडौं, असार २९ । सामुदायिक विद्यालयका लागि आवश्यक शिक्षक तयारी प्रकृयामा सुधार गर्न शिक्षा मन्त्रीद्धारा गठित कार्यदलले सुझाव दिएको छ ।
शिक्षकको तालिमका लागि गरिएको लगानीको तुलनामा कक्षाकोठामा प्रभाव नपरेको निस्कर्ष सहित सामुदायिक विद्यालयमा गुणस्तर सुधार प्रारुपको सुझाव पेश गर्न गठित कार्यदलले उक्त सुझाव दिएको हो ।
शिक्षा शास्त्र संकायमा कमजोर सिकाइ पृष्ठभूमिका विद्यार्थी भर्ना हुने र उनीहरुले तुलनात्मक रुपमा कम विषयगत पाठ्यक्रम पुरा गरी शिक्षकका रुपमा सेवा प्रवेश गर्ने अवस्था रहेको भन्दै उक्त कार्यदलले यस तर्फ सुधार गर्नु पर्ने आवश्यकता औल्याएको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्धारा गठित शैक्षिक जनशक्ति विकास केन्द्रका प्रमुख डा. लेखनाथ पौडेलको संयोजकत्वमा रहेको उक्त कार्यदलले शिक्षक सेवाकालिन तालिममा भएको लगानी अनुरुप शिक्षकले सिकेका सीप कक्षा कोठामा नपुग्नुको कारण खोज्नु पर्ने उल्लेख गरेको छ ।
यसैगरी कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलाप, पुस्तकालय र पठन संस्कृति विकास र परीक्षण र मूल्याँकन प्रणालीमा सुधारका लागि प्रतिवेदनमा सुझाव दिईएको छ ।
विद्यालयको ब्यवस्थापनमा समुदायको सहभागितालाई प्रभावकारी रुपमा वृद्धि गर्न तथा बदलिदों संरचनामा स्थानीय सरकारको प्रभावकारी भूमिका सुनिश्चित गर्न क्षमता वृद्धिको काम गर्नु पर्ने उक्त प्रतिवेदनमा सुझाव छ ।
प्रतिवेदनमा सामुदायिक विद्यालयका नौ समस्या पहिचान गरी विभिन्न सुझाव समेत दिईएको छ । सामुदायिक विद्यालयको शिक्षामा रहेका प्रमुख समस्या शिर्षकमा समस्या पहिचान र विश्लेषण गरिएको छ ।
विगतमा विद्यालय स्थापनाको अवस्थामा भन्दा सुमुदायको बसाईमा भएको परिवर्तन, बाटोघाटोमा भएको सुधार, पुलपुलेसाको निर्माण आदीले गर्दा त्यतिखेर खोलिएका विद्यालयको आवश्यकताका बारेमा पुर्नमुल्याँकन गर्नु पर्ने कार्यदलको सुझाव छ । जनघनत्व र पहुँचका हिसावले कुन विद्यालय आवश्यक छ र कुन छैन भनी यकिन गर्न कार्यदलको सुझाव छ ।
यस्तै आवश्यकताका आधारमा शिक्षक दरबन्दी मिलान नहुनुले पनि सामुदायिक विद्यालयको अवस्था कमजोर बनाएको भन्दै उक्त कार्यदलको प्रतिवेदनमा प्राथमिक तहमा शिक्षक संख्याको वितरण नमिलेको, निमावि र माविमा शिक्षक दरबनदी निकै कम रहेको र विषयगत रुपमा शिक्षकको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ ।
पठन पाठनमा पाठ्यक्रम भन्दा पाठ्यपुस्तकको प्रयोग बढी हुने कुराले पनि सामुदायिक विद्यालयको सिकाइमा असर गरेको भन्दै उक्त कार्यदलले समग्र पाठ्यक्रममा पकिाइका सक्षमताहरु स्पष्ट गर्ने, ती सक्षमताहरु पर्याप्त र सान्दर्भिक भए नभएको जस्ता विषयमा अध्ययन, छलफल र अन्तरक्रिया गरी सुधार गर्न सुझाव दिएको छ ।
सामुदायिक विद्यालय गुणस्तर सुधारमा देखिएका समस्या पहिचान गरेर शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको उपलब्धि बृद्धि गर्ने उपायको खोजि गर्न भन्दै उक्त कार्यदल गठन गरिएको थियो ।
