पत्रकार महासंघ बागलुङ आफ्नै भवनमा

Avatar photo
Dhadingpost
असार २६, २०७५

बागलुङ, असार, २६ । अठारौँ स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ बागलुङको शाखा आफ्नै भवनमा सरेको छ ।

जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको थियो । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको जनाइएको छ । बाँकी रकम सहयोग अभियानबाट संकलन भएको अध्यक्ष शिरीषले बताउनुभयो ।

शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नामक आर्थिक अभियान थालेको थियो । अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका थिए ।

रु चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । “स्थानीय तहलगायत सबै पक्षको सहयोगले वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ”, अध्यक्ष शिरीषले भन्नुभयो ।

रु ७५ लाखको लागतमा दुईतले भवनको निर्माण सम्पन्न गरिएको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । सरकारी र गैरसरकारी क्षेत्रबाट जुटेको आर्थिक सहयोगबाट भवन निर्माण कार्यले सफलता पाएको हो ।

शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन निर्माण गर्न शाखाको वर्तमान कार्यसमिति सफल भएको छ । बागलुङ नगरपालिका–२ मा निर्माण भएको भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् ।

उपुयक्त ठाउँमा जग्गा नपाउँदा पत्रकार महासंघको भवन बन्न सकेको थिएन । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले गति लिएको थियो ।