१ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

Avatar photo
Dhadingpost
असार २५, २०७५

काठमाडौं, असार २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना गरीदिने बताएको छ ।

रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउन साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको मन्त्री विष्टले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिए । मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसरलाई आधारभुत तहसम्म पहुँच पुर्‍याइने बताए ।

उनकाअनुसार स्थानीय तहमा खोलिदे रोजगार सुचना केन्द्रमा युवाहरुले आफू बेरोजगार भएको सूचित गर्नुपर्नेछ । त्यसको निश्चित समयमा सरकारले उनीहरुलाई रोजगारीको अवसरहरु दिनेछ ।

रेमिट्यान्सलाई बैकिङ प्रणालीबाट भित्र्याउने, बैदेशिक रोजगारीमा जानेलाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकार सचेत रहेको उनले बताए ।

रोजगारी दिन नसके बेरोजगार भत्ता दिने संकेत गर्दै श्रममन्त्री विष्टले भने, ‘नभए सरकारले आफ्दो दायित्व पुरा गर्छ ।’

आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टले बताए ।

आफूले मन्त्रालय सम्हालेको करिव ३ महिनामा डेढ दर्जन सुधारका कामहरु अघि बढेको र अब त्यसले थप तीव्रता पाउने उनले बताए ।