काठमाडौं, असार २५ । नेपाली सेनाका प्रधानसेनापति नियुक्तिको समय जतिजति निकट आउँदैछ, त्यो पद प्राप्तिका लागि दावेदारबीच अप्रत्यक्ष भिडन्त पनि सुरु भएको छ ।
तर, अवकासको दिन गन्ती सुरु भएपनि प्रधानसेनापति क्षत्री भने प्रधानमन्त्री केपी शर्मा ओलीको मनचित बुझाएर मन्त्रिपरिषद्बाट आफ्नो विदेश भ्रमणको प्रस्ताव हतारहतारमा स्वीकृती गराएर चीनको भ्रमणपछि बर्मातिर मस्त छन् । नेपाली सेनाको परम्परा अनुसार प्रधानसेनापति क्षत्री २०७५ साउन २४ गतेबाट विदा बस्दैछन् ।
सत्तारुढ दलका नेता र प्रधानमन्त्री, रक्षा मन्त्रीलगायतका शक्ति केन्द्रहरुमा प्रधान सेनापतिका लागि निकै दौडधुप र चलखेल भइरहेको हेडक्वार्टर स्रोतबाट थाहा भएको छ ।
२०७५ भदौ २४ गतेबाट रिक्त हुने प्रधान सेनापतिका लागि एक नम्बर रथी पूर्णचन्द्र थापा प्रवल दावेदार हुन् भने थापालाई पछारेर आफू प्रधानसेनापति बन्ने दौडमा दुई नम्बर रथी हेमन्तराज कुँवरको सक्रियता रहेको स्रोत बताउँछ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री अवकास विदा बस्ने दिन २०७५ असार २५ गतेबाट २०७५ साउन २३ गते ३१ दिन मात्र बाँकी छ ।
