सुर्खेत बाढीको ४ वर्ष ः टालेका पालमुनि फाटेको जिन्दगी

Avatar photo
Dhadingpost
असार २४, २०७५

सुर्खेत, असार २४ । झण्डै चार वर्षदेखि बराहताल गाउँपालिकाको गिरीघाटमा पालको झुपडीमा बस्दै आएका उनीहरुले अझै जाने ठाउँ पाएका छैनन् ।

जंगलको बीचमा सानो बस्ती । च्यातिएका पाल टालेर र खरको छानाले बनाइएका ससाना घरहरु ।

आकाशबाट परेको पानी पाल र खरको छानाले छेक्दैन । लक्ष्मी रजाली हरेक दिनछानाबाट च्यातिएका पालका टुक्रा निकाल्नुहुन्छ । उहाँका श्रीमान ललितबहादुर छिमेकीको सहयोगमा पाल मिलाउनुहुन्छ ।

‘बाढी पहिरोले जाय जेथा सबै बगाएपछि कहाँ बस्ने ? यहाँ बस्न कसलाई मन छ र’ लक्ष्मीका श्रीमान ललितबहादुर भन्नुहुन्छ, ‘हाम्रा समस्या कति छन्  । कतिलाई भनि सकियो, कहीँ कतैबाट केही हुँदैन । पानी परेर बिहान कोठा भत्कियो । अहिले भत्किएको घर फेरि बनाउँदैछौँ ।’

२०७१ साल साउन २८ र २९ गते आएको बाढीले सुर्खेतका ९ सय ७० घरपरिवार विस्थापित भए । बाढीमा परि २४ जनाको ज्यान गयो । ९१ जना बेपत्ता भए । बेपत्ता भएकालाई पनि सरकारले मृत घोषणा गरेको छ ।

बाढीले घर, खेत र बारी बगाएपछि पाल मुनि बसेर गुजारा गर्नुपर्ने बाध्यता आइलाग्यो । रोजगारी केही छैन । साँझ खायो भने बिहान के खाने र बिहान खायो भने साँझ के खाने भन्ने समस्याले सताउँछ । सरकारले चार वर्ष अघि दिएका पाल च्यातिएर धेरैपल्ट टाल्दै छाप्रा बनाउँदा उनीहरुका आँखा आँसुले भिज्छन् ।