ढुवानी ठप्प हुँदा डिजेल र पेट्रोल अभाव

Avatar photo
Dhadingpost
असार २१, २०७५

काठमाडौ, असार २१ । वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मका कारण ढुवानीमा ठप्प भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ ।

वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन् । ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता लालीगुराँस नगरपालिकाको लसुने नजिकै दुर्घटना भएपछि पुनः जिल्लाका लागि पेट्रोलियम पदार्थ भित्र्याउन नसकेको व्यवसायी चन्द्रशेखर सुवेदीले बताउनुभयो । हिलाम्मे सडकका कारण ठूला ट्यांकरले तेल ल्याउन नमान्ने र साना गाडीबाट ढुवानी गर्दा नोक्सान हुने भएकाले पर्याप्तरुपमा डिजेल र पेट्रोल उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ । साना गाडीबाटै ढुवानी गरेर पेट्रोल उपलब्ध गराइरहे पनि ठूलो माग आउने गरेको डिजेलको भने अझै पनि अभाव रहेको छ ।

गाडीले तेल अभावका कारण जर्किनमा डिजेल बोकेर आवतजावत गरिरहेका छन् । ठूला कम्पनी र थोक ग्राहकलाई ट्यांकर दुर्घटना भएयता डिजेल उपलब्ध गराउन नसकेको व्यवसायी सुवेदीले बताउनुभयो ।