प्रहरी र भारतीय हतियार समूहबीच इन्काउन्टर, हतियार कारोबारी मारिए

Avatar photo
Dhadingpost
असार १५, २०७५

रौतहट, असार १५ । रौतहटमा प्रहरी र भारतीय हतियार कारोबारी समूहबीच इन्काउन्टर हुँदा घटनामा अपराधिक समूहका एक सदस्यको मृत्यु भएको छ ।

हतियारको कारोबार हुन लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको टोली र ३ जनाको संख्यामा मोटरसाइकलमा रहेका हतियार कारोबारी समूहबीच राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी बाग्मती नदीको तटबन्धनमा राति ११ बजे मुठभेड भएको थियो ।

घटनामा अपराधिक समूहका एक सदस्यको मृत्यु भएको हो । यद्यति, हालसम्म ती व्यक्तिको सनाखत भएको छैन ।

खुट्टा र पिठ्युमा गोली लागेर उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

उनीसँगै रहेको अन्य दुई व्यक्ति भने प्रहरीलाई फायरिङ गर्दै भागेको जनाइएको छ ।

उनीहरुको साथबाट प्रहरीले एसएमजी बन्दुक र त्यसमा लाग्ने म्याग्जिन बरामद गरेको छ ।

घटनामा प्रहरीतर्फबाट ३१ राउण्ड फायर भएको थियो भने हतियार कारोबारीले १२ राउण्ड गोली चलाएका थिए ।