काठमाडौं, असार १३ । नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको पहिलो जहाजको बाँकी किस्ता करिब साढे ३ अर्ब रुपैयाँ आपूर्तिकर्ता कम्पनीलाई चुक्ता गरेको छ ।
निगमले न्युरोड विशालबजारस्थित हिमालयन बैंकमा रहेको आफ्नो डलर खाताबाट आयरल्यान्डको हाइफ्लाई एक्स नामको कम्पनीलाई मंगलबार ३ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ (३ करोड ७ लाख २५ हजार ९ सय २५ अमेरिकी डलर) पठाएको हो।
निगमले पैसा पठाएको हाइफ्लाई एक्स त्यही कम्पनी हो, जसले अमेरिकी कम्पनी एएआर कर्पोरेसनमार्फत जहाज बेच्न प्रस्ताव गरेको थियो । एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । अहिले निगमले पठाएको रकम हाइफ्लाई एक्स र एएआरको आयरल्यान्डस्थित संयुक्त (एस्क्रों) खातामा गएको छ ।
‘पहिलो वाइड बडी जहाजको दोस्रो तथा अन्तिम किस्तावापतको रकम पठायौं,’ निगमको कर्पोरेट विभागका उपनिर्देशक तथा सहप्रवक्ता शैलेश कंसाकारले मंगलबार नागरिकसँग भने, ‘अब पहिलो वाइड बडी बिहीबार (असार १४ गते) बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।’
‘पहिलो वाइड बडी जहाजलाई हाइफ्लाईकै पाइलटले उडाएर ल्याउनेछन्,’ कंसाकारले भने, ‘फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट जहाज सिधै काठमाडौं आउने छ । यहाँ आइपुग्न त्यस्तै ६ देखि ७ घन्टा लाग्ने छ ।’
निगमलाई एयरबसमा उत्पादित दुई सय ५० देखि दुई सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुई थान वाइड बडी जहाज बिक्री गर्न २०७३ कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । तीमध्ये एएआरले सबैभन्दा सस्तो मूल्यमा दिने प्रस्ताव गरेको थियो । उसले ‘ब्रान्ड न्यु’ (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको थियो । निगमले दुईथान वाइड बडी ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ।
सम्झौताअनुसार एएआरले पहिलो वाइड बडी असार १४ गते काठमाडौं पठाउने छ भने लगत्तै एक महिनापछि दोस्रो जहाज पठाउने छ । यसअघि उसले २०७४ मंसिरमा र दोस्रो लगत्तै फागुन अन्तिमसम्ममा काठमाडौं पठाउने तालिका दिएको थियो ।
