इनरुवा, असार ११ । सुनसरीको कोशी गाउँपालिका–७, हरिपुरमा साथीसाथीबीच भनाभन पर्दा १७ वर्षीय गौतम आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छ ।
साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन् ।
उनले आफूलाई अपांग बनाई दिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालोपालो गरी प्रधानाध्यापक ओमप्रकाश र शिक्षकले निर्घात कुटपिट गरेको आरोप लगाए ।
प्रधानाध्यापक यादवले आवेगमा आएर कुटपिट गरेको स्वीकारे तर अपांग बनाउने गरी नकुटेको दाबी गरे । यादवले सञ्चारकर्मीलाई समाचार लुकाई दिनसमेत आग्रह गरे ।
कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताए । घाइते पाठकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक सर ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाँठी र रबरको पाइपले कुटपिट गरेको बताए ।
