धादिङ असार ३ । एमाले र माओवादी केन्द्र विघटन भएर बनेको नेकपाका नेता झलनाथ खनालले मुल्यबृद्धि र जेष्ठ नागरीक भत्ताबारे सरकारलाई कडा सुझाव दिएका छन् ।
जनता जान्न चाहन्छन् भन्ने टेलिभिजन कार्याक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले जेष्ठ नागरिकको वृद्ध भत्ता रकम मासिक पाँच हजार पुर्याउने नाराले चुनाव जितिएको तर बजेटले सम्बोधन नगरिनु राम्रो नभएको भन्दै अर्थमन्त्रिले यस विषयमा सोच्नु पर्ने बताएको थिए ।
मुल्यबृद्धिबारे धमलाले राखेको प्रश्नमा खनालले अहिले भइरहेको मूल्यवृद्धिको कारणहरुलाई गंभीरतापूर्वक लिन ओली सरकारलाई सुझाब दिए ।
“मूल्यवृद्धि सरकारका लागि चुनौति हो । चुनौतिको रुपमा लिएर नियन्त्रणका लागि आवश्यक कदम तुरुन्त चाल्नुपर्छ ।” खनालले भने, “जनतालाई राहत दिने हिसाबले आवश्यक कदम चाल्नुपर्छ । यो सरकार जनताको हित र सबैप्रकारका दुःख कष्ट निवारण गर्नका लागि गठन भएको हो । सरकारले जे बोलेको छ त्यो गर्नैपर्छ ।”
