हेटौंडा, जेठ ११ । मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा जगाउन अवार्डको आयोजना गरिने भएको छ ।
२०७४ सालभित्रको कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य निर्णायक मण्डल छ । मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक सुशान्त श्रेष्ठले बताउँछन् ।
न्यू मिडिया एकेडेमीद्वारा संचालित सिधाखबर डटकमले अवार्ड कार्यक्रम गर्न लागेको हो । कार्यक्रम निर्देशक मणीराज गौतमले आउँदो असार ८ गते हुने कार्यक्रममा नौ बिधामा अवार्ड वितरण गरिनुका साथै २ पत्रकार र दुई व्यवसायिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिने बताए ।
उनकाअनुसार मकवानपुरबाट उत्कृष्ट पत्रकार वर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता वर्ष अवार्ड, सञ्चार उद्यमी वर्ष अवार्ड र बजार व्यवस्थापक वर्ष अवार्ड प्रदान गरिनेछ ।
कला तथा पत्रकारिताको क्षेत्रमा विगत केहि वर्षदेखि अनवरत रुपमा क्रियाशील सिधाखबर डटकमले पत्रकारिता क्षेत्रमा उत्कृष्ट सेवा पुर्याउँदै आएका व्यक्तित्वहरुको हौसला अभिवृद्धिको अभिप्राय राखी वृहतस्तरको हेटौडा जर्नालिजम अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।
पत्रकारितामा सम्मानित व्यक्तित्वहरुले समेत नविनताको अनुभूति गरुन् र भावि पुस्तालाई समेत प्रेरणा होस भन्ने अभिप्रायले सम्मान तथा अवार्ड कार्यक्रम गर्ने लक्ष्य राखिएको बताइएको छ ।
कार्यक्रमका लागि ३ नम्बर प्रदेश युएईको तर्फबाट स्थानीय आयोजकको रुपमा समिम खान, भीम अधिकारी र मनोज गोर्खालीको समन्वय रहने र नेपाल पत्रकार महासंघ युएई र एनआरएन युएईले सहयोग गर्ने कार्यक्रम निर्देशक गौतमले बताए ।