धनुषा वैशाख,११ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षाबारे स्थलगत अध्ययन गरी टोली फर्केको छ ।
मोदीको भ्रमण तयारीका लागि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसहित भारतीय सुरक्षा प्रमुखहरूको प्रथम ‘भिजिट’ भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले बताए । ‘सुरक्षा र प्राविधिकको दोस्रो र तेस्रो भिजिटपछि मात्रै मोदीको कार्यक्रम तय हुनेछ,’ उनले भने, ‘पहिलो भिजिटका आधारमा स्थानहरू पहिचान भएपछि सातापछि पुनस् सुरक्षा निकायको टोली जनकपुर आउनेछ ।’ तेस्रो भिजिटपछि मात्र मोदीको कार्यक्रम सार्वजनिक हुने उनले बताए ।
भ्रमणको तयारी गर्न गृहमन्त्रालय र नेपालस्थित भारतीय दूतावासका अधिकारीको टोली स्थलगत अध्ययन गरी फर्केको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । ‘मोदीको जनकपुर भ्रमणका क्रममा प्रयोग हुने स्थान र सुरक्षाबारे स्थलगत अध्ययन गरी टोली फर्केको छ,’ उनले भने, ‘जानकी मन्दिर दर्शन गर्ने रूट, सम्बोधनका लागि तिरहुतिया गाछी, रंगभूमि मैदान बाह्रबिघा र मन्दिर परिसरलगायत ठाउँको अवलोकन गरिएको छ ।’
भ्रमण तयारीका लागि जनकपुर आएका अधिकारीहरू फर्किए पनि राजदूत पुरी भने यतै छन् । उनले प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट गरेका छन् ।