नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि ६ घण्टा बन्द

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २, २०७५

चितवन बैशाख, २ । नयाँ बर्ष भएको कारणले गर्दा एकदिनमात्र खुलाएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ ।

आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।

आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो ।

 

विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने, मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ ।

सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारीखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।