ज्ञानज्योतीमा छात्रवृत्ति अक्षयकोष स्थापना

Avatar photo
Dhadingpost
सोमवार, माघ १५, २०७४

धादिङ, ज्वालामुखी, माघ १५ । धादिङ–पोखरा सम्पर्क समाजले धादिङको ज्वालामुखी गाउँपालिका ४, ढोला टारीस्थित ज्ञानज्योती आधारभूत विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनाको उपस्थितिमा समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष सुदर्शन बसौलाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकाजी तामाङ र प्रधानाध्यापक सुशिल तिमिल्सिनालाई अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो ।

आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको समाजका वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौलाले बताए ।

विद्यालयका स्रोतव्यक्ति सुदर्शन भट्टले क्षय नहुने र गर्न पनि नमिल्ने भएकाले नै अक्षयकोष भनिएको भन्दै विद्यालयमा स्थापित अक्षयकोष निकै महत्वपूर्ण हुने बताए । उनले अक्षयकोषको सही ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकाजी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष कृष्णबहादुर गुरुङ, कांग्रेसका स्थानीय नेता चूडामणि अर्याल, एमाले नेता महेन्द्र अर्याल, समाजका महासचिव हरि पन्त, शिक्षिका गीता तिमिल्सिना लगायतले बोलेका थिए ।
उक्त अवसरमा कांग्रेस स्थानीय नेता चूडामणि अर्यालले समाजको अक्षयकोषमा १ हजार रुपैयाँ थप गरे ।

अक्षयकोष रकम हस्तान्तरणका लागि समाजका वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौलाको नेतृत्वमा कार्यसमिति सदस्य यादूप्रसाद ढकालको संयोजकत्वमा महासचिव हरि पन्त, सदस्यहरू सरस्वती श्रेष्ठ सरु, युगमराज अगस्ती, रामप्रसाद पाण्डे राजु, टीकाबहादुर सापकोटा, बलराम नेपाली, पूर्व कोषाध्यक्ष ढुण्डिराज मिश्र, पूर्वसदस्य अर्जुन भट्ट विद्यालयमा पुगेका थिए ।

२०४९ सालमा स्थापित विद्यालयमा हाल २९ विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक तिमिल्सिनाका अनुसार विद्यालयमा ४ शिक्षक छन् । २०७२ को महाभूकम्पपछि अति संकटपूर्ण अवस्थाबाट गुज्रिएको विद्यालयले बल्ल ४ कोठे नयाँ भवन पाएको छ ।