हामी धादिङबासी प्राय सबैले देखिदै आएको तस्बिर हो यो । तर देख्छन हेर्छन, हामी त्यहि धरापलाई कुल्चन्छौ हिडछौ । धैरेले यो बाटो किन बनेन भनेर प्रश्न गर्न समेत सकेनन् ।
यहि बाटो भएर हिडनु भएका मानिसहरु अहिले ठूलै पदमा पुगे तर पनि यसको मर्मत सम्भार बेलैमा हुनुपर्छ भनेर ध्यान चाहि कति जनाको गयो त्यो थाहा भएन । शिक्षित वर्ग पनि यहि बाटो हिडे अनि चुनावको बेला नेताको पछिपछि झोला बोक्दै यहि बाटो केयौ कार्यकर्ता हिडे तर पनि ती कार्यकर्ताले आफ्ना नेतालाई भन्न सकेनन यो बाटो तत्कालै बनाउनु पर्छ नेता ज्यू ?
धादिङका लब्ध प्रतिष्ठित भद्र भलादमी दिनको कम्तीमा पनि दुई पटक यहि बाटो भएर ओहोर दोहोर गर्छन तर पनि यसलाई बनाउनु पर्छ भन्ने ध्यान कसैको जान सकेनन् ।
अलि टाढाको भए सायद देखेनन् होला त्यै भएर नै नबनेको भन्न हुन्थ्यो । नजिकको तीर्थ हेला भने झै यहि बाटो भएर धादिङ नीलकण्ठ नरपालिकाका प्रमुख ,उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, निवर्तमान ,बर्तमान प्रतिनिधि तथा प्रदेश सभामा विजयी सांसद सबै यहि बाटो भएर हिडनु भएका छन ।
निदाएको मानिसलाई उठाउन सजिलो हुन्छ तर ननिदाएर निदाएको अभिनय गर्नेलाई उठाउन गाह्रो हुन्छ । कुल्चिएर पनि नकुल्चेको जस्तो गर्नु भएको भने पक्कै हो यो बाटोलाई । मैले उठाउन खोजेको प्रशंग के हो भने धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी सिरान बजारमा गत साउनमा भासिएको बाटोको कुरा हो ।
गत साउन १ गते राति परेको अविरल वर्षाका कारण भासिएको सिरान बजार पहिले पहिले हाट बजार लाग्ने ठाउमा सडक भाँसिएर सवारी साधन समेत एकतर्फि मात्र सञ्चालन हुन थालेको पनि ६ महिना भइसकेको छ । यसको मर्मत सम्भारमा कसैको ध्यान जान सकेको छैन । यतिका समय बित्दा पनि सरकारी निकाय रमिते बनेर बसिरहेका छन । भत्किएको सडक बनाउनु पर्छ भनेर न जिल्ला समन्वय समितिको ध्यान गयो नत नगरपालिका न सडक विभागको नै आँखा खुल्यो । बरु यहि भासिएको सडक माथिबाट मोटरसाइकल र चिल्ला कार कुदाईरहे ।
धादिङ राजधानीसँग जोडिएको नजिकैको जिल्ला हो । राजधानी काठमाडौबाट धादिङ करिब ९० किमि मात्र रहेको छ । यति नजिकै रहेर पनि धादिङको विकास भने टिठ लाग्दो रहेको छ । विकासको सम्भावना प्रचुर मात्रामा रहे पनि सहि सदुपयोग र परिचालन गर्न नसकिदा धादिङ विकासमा पछि परेका हुन ।
देशको ६८ जिल्लालाई जोडने राजमार्ग रहेको धादिङमा सडकको अवस्था भने नाजुक रहेको छ । कच्ची सडक प्राय सबै जसो क्षेत्रमा पुगे पनि पक्की सडक भनेको पृथ्वीराजमार्गको नौबिसेदेखि जोगिमाराको जवाङ खोलासम्म र धादिङ मलेखु सडक खण्ड मात्र पक्की रहेका छन । यी बाहेकको सबै क्षेत्रमा सडकको अवस्था नाजुक रहेका छन । सदरमुकामको एउटा भासिएको सडक त छ महिनासम्म बन्दैनन् भने अन्य ठाउको त के कुरा गर्नु ।
धादिङ उद्योग वाणिज्य संघ आडैमा रहेको छ । त्यहाँ विभिन्न राजनैतिक दलका विभिन्न पार्टी प्रमुख एवम प्रतिनिधि भेला हुने गर्दछन । उक्त हलमा छिर्दा देख्नु नै भएको होला तर पनि यसको मर्मत सम्भार हुनुपर्छ भनेर कसैले आवाज नउठाउनु भएको हो की उठाएर पनि नसुने झै गरीएको हो त्यो दैव नै जानुन ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका उपसभापतिको घर अगाडिको सडक तर पनि चाँसोको साथ अहिलेसम्म मर्मत नभएको देख्दा यहि एउटा तस्बिरले पुष्टी गर्छ कि धादिङको विकासमा कतिको मात्रमा चनाखोका साथ कार्य हुन्छ भनेर ।
दशकौ देखि बतिमुनिको अध्यारो भनेर चिनिदै आएको धादिङलाई सरकारले केहि समय अघि हिमाली जिल्लामा सुचिकृत गरेका छन । जिल्लाबासीलाई चुनावको बेलामा खुशि पार्दै चुनाव जितेर जानु भएका सांसदहरुलाई हामीले सोध्ने बेला आएको छ तपाई सांसद भएर जिल्लाको लागि गर्नु भएको गतिलो एउटा काम के हो ?
सायद यसको कस्तो जवाफ आउला तपाई अनुमान लगाउदै गर्नुहोस । सम्वृद्ध धादिङको परिकल्पना सबैले गरे तर पनि सदरमुकाम धादिङबेशीकै यो तस्बिरले भन्छ कि के साँच्चिकै धादिङ सम्वृद्ध भएका छन र हुन्छन ? म भन्छु धादिङ सम्वृद्ध हुन्छ तर त्यसको लागि ढिला सुस्तीको अन्त्य र विकासमा सबैको ध्यान गएमा ।