कबड्डी जगेर्नामा -न्यु किबो

Avatar photo
Dhadingpost
बुधबार, पुस २६, २०७४

सञ्जय देवकोटा
धादिङ पौष २६ ।
विभिन्न सदनका ७/७ जना विद्यार्थीहरू निकै जोस र जाँगरका साथ मैदानमा उत्रिएका थिए । उनीहरूमा खेल जितिन्छ कि जितिदैन भन्ने चिन्ता एकातिर भने कसरी खेल्ने भन्ने कौतुहलता पनि थियो अर्कोतिर । उक्त कौतुहलतालाई मेट्दै प्रशिक्षक सुमन दुवाडीले खेलाडीहरूलाई खेलका नियमहरू बताउँछन् ।

रेफ्रीको सिट्टी फुकाइसँगै सुरु भएको प्रतियोगितामा पालै पालो विद्यार्थीहरू कबड्डी कबड्डी भन्दै एक टिमले अर्को टिमका खेलाडीहरूलाई छुने, लडाउने गर्दछन् भने उता आफ्नो सदनको साथीहरूले जित्दा हुटिङ्को वर्षाले झनै खेलाडीहरूलाई उर्जा प्रदान गरिरहेको थियो ।
न्यु किबो बोर्डिङ स्कुल नीलकण्ठ–३, धादिङमा आयोजित खेलकुद सप्ताह अन्तरगतको कबड्डी खेलको शब्द दृष्य हो यो ।

“नेपालमा पश्चिमी संस्कृति मात्र होइन पश्चिमी खेलहरूले अड्डा जमाइरहेको र नेपालका पुराना खेलहरू लोप हुनै लागेको यो अवस्थामा पुराना खेलहरूलाई पनि जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका साथ न्यु किबो बोर्डिङले उक्त खेललाई समावेश गरेको बताउनु हुन्छ विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मी ।”

अरु खेलहरूमा भन्दा यो खेलमा भिन्नै चासो र उत्सुकता विद्यार्थीहरूमा देखिएकाले यस्ता खाले खेलहरू जुन नेपालको पहिचानसँग जोडिएको छ तिनीहरूलाई अझै व्यवस्थित र नियमितता दिने बताउनु हुन्छ विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक उदय लामिछाने मगर ।

यो त एउटा सुरुवात मात्र हो । नेपालको पहिचान र इतिहाससँग जोडिएका विभिन्न खेलहरू अहिले लोप हुने अवस्थामा पुगेका छन् । नेपालको राष्ट्रिय खेल डन्डिबियो अहिले लगभग लोप नै भइसकेको छ । अन्य यस्ता धेरै खेलहरू छन् जुन खेलहरूको जगेर्ना गर्नु सरकार, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति र सम्पूर्ण सरोकारवाला निकायहरूको ध्यानाकर्षण हुन जरुरी छ ।

मिनी म्याराथुन मा सुवास तामाङ प्रथम

न्यु किबो बोर्डिङ स्कुलमा हरेक वर्ष आयोजना हुदै आइरहेको खेलकुद महोत्सव अन्तरगत तेस्रो दिन आज मिनी म्याराथुन सम्पन्न भएको छ ।

विद्यालयको प्राङ्गणदेखि ससाहसम्म करिब ३ किलोमिटरको दुरीमा आयोजना गरिएको उक्त प्रतियोगितामा छात्र तर्फबाट हरियो सदनका सुवास तामाङ प्रथम, रातो सदनका सुसन गुभाजू द्वितीय र हरियो सदनकै गणेश लम्साल तृतीय हुन सफल भएका थिए भने छात्रातर्फबाट पहेलो सदनकी प्रमिता तामाङ प्रथम, पहेलो सदनकै पुर्णिमा के.सी. द्वितीय र हरियो सदनकी पुष्पा के.सी. तृतीय हुन सफल भएकी थिइन् ।

प्रतियोगितामा करिब १०० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । यही पौष २३ गतेदेखि सञ्चालन भएको किबो खेलकुद महोत्सवमा १०० भन्दा बढी खेलहरू समावेश भएको र महोत्सव यही पौष २८ गते समापन गरिने बताइएको छ ।