धादिङ पौष २३ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाको वडा नं ८ र ९ मा भुकम्प प्रभावित समुदायको लागि ३५ वटा घर निर्माण गरि नमुना वस्ती बनाईने भएको छ ।
निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले नमुना बस्ती बनाउने योजना अनुरुप बनाईन लागेको घरको शिलान्यास गर्नुभएको छ ।
भवन शिलान्यास पछिको सभालाई संबोधन गर्दै मेयर ढुङ्गानाले प्रत्येक नगरबासीको खुसीको लागि आफु दिनरात खटिरहेको र यस्ता कार्यक्रमले नगरबासीलाई समृद्धि तर्फ लम्काउन सहयोग गर्ने बताउनु भयो ।
सिमान्तकृत, विपन्न, गरिब, पिछडिएका समुदायमा विभिन्न सहयोगका कार्यक्रम गर्दै आइरहेको एक्सन नेपाल र अक्सफामको साझेदारीमा निर्माण कार्य थालनीमा उक्त ३५ घर निर्माण हुन लागेको हो ।
नेपाल भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत अहिले निलकण्ठ – ८ मा रहेका विपन्न कुमाल समुदायको लागि १५ वटा र निलकण्ठ – ९ मा रहेका विपन्न दलित समुदायको लागि २० वटा घर निमार्णमा प्राबिधिक तथा सामाग्री सहयोग गरिने भएको छ ।
भुकम्प प्रतिरोधि घर निमार्ण गर्न विशेष प्रकारको सि.एस. ई. बि. मेसिनबाट उत्पादित ईट्टा प्रयोग गरि निमार्ण कार्य गर्न लागिएको एक्सन नेपालका देविरमण आचार्यले बताउनु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दोलखराज ढकाल, जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्ण अर्याल, अक्सफाम नेपालका मानवीय कार्यक्रम व्यावस्थापक श्रीभक्त बस्नेत, अक्सफाम धादिङका कार्यक्रम व्यावस्थापक अरुणकान्त पौडेल, एक्सन नेपालका कार्यकारी निर्देशक गणेश ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।