नारायण सिलवाल
धादिङ पौष १४ । धादिङको सिद्धलेक गाउँपालिकाअन्तर्गत पर्ने कुम्पुरको मनकामना आधारभूत विद्यालयका विद्यार्थी अझै खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।
सदरमुकाम धादिङबेसी जोड्ने कालुपाण्डे राजमार्गको मावि खोलाबाट ५ किलोमिटर माथि पर्ने सो विद्यालयको भवन भूकम्प गएको ३ वर्ष पुग्न लाग्दा पनि बनिनसक्दा खुला आकाशमुनि बसेर पढ्न बाध्य भएका हुन् ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएको भवन अझै पुनर्निर्माण भइसकेको छैन । ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा विद्यार्थीहरु प्राङ्गणमा लहरै बसेर पढ्ने गरेका छन् । २ कोठे भवन निर्माणाधीन अवस्थामा छ । बाँकी ४ कोठा निर्माणको सम्झौता मात्र भएको छ ।
एक्सन नेपालको सहयोगमा निर्माणाधीन भवन देखाउँदै प्रधानाध्यापक ध्रुव सिलवालले भने, ‘दुःखकष्टको कुरै नगरुम्, २ कोठाको भवन केही दिनमा फाइनल हुन्छ, अब ४ कोठा जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङ (DLBIU) ले बनाइदिने गरी सम्झौता भएको छ।’ विद्यालय निरीक्षण गर्न पुगेको जिल्ला शिक्षा कार्यलायको टोलीलाई प्रधानाध्यापक सिलवालले भवन बन्ने पक्का भए पनि फर्निचर कसरी जुटाउने भन्ने समस्या रहेको बताए । साथै उनले विद्यार्थीहरु नियमित विद्यालय नआउने समस्या रहेको जानकारी गराउँदै खाजा कार्यक्रम सञ्चालन गर्न नसकिएको, गुणस्तरीय शिक्षाका लागि कम्प्युटर शिक्षा लागू गर्न नसकिएकोमा ध्यानाकर्षण गराए ।
१५४ घरधुरी रहेको यस गाउँमा ३३ घर दलित र बाँकी जनजातिको बसोबास छ । पक्की भवन छ, विद्यालय नै छैन धादिङमै एउटा अर्को यस्तो विद्यालयु छ, जहाँ पक्की भवन बनिसके पनि विद्यार्थी छैनन् । त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत त्रिपुरेश्वर खैरेनीमा विद्यालयका लागि भनेर सुविधा सम्पन्न नमूना भवन बनेको छ । तर, ताला लगाएर राखिएको छ । विद्यार्थी थोरै रहेकाले भूकम्प अगावै जिल्ला शिक्षा कार्यालयले त्यस ठाउँमा रहेको आँखु प्राथमिक विद्यालयलाई अचने उमावि खहरेमा गाभेको थियो ।
विद्यालय गाभिएपछि विद्यार्थी अचनेतर्फै लागे । सरिसकेको विद्यालय भवन भूकम्पले भत्कायो । अनि दाताहरुको सहयोगमा हतार-हतार नयाँ भवन बन्यो । स्वीस नेप्लिज सोसाइटी (SNS) को करिब ३५ लाख लागत, लमजुङ सीप विकास केन्द्र (LSDF) को प्रविधिक सहयोग र स्वीट्जरल्याण्ड निवासी कमला भट्टको समन्वयमा उक्त भवन २०७३ मा निर्माण सम्पन्न भएको हो ।
औपचारिकरुपमै मर्ज भएर सरिसकेको विद्यालयको भवन निर्माण गर्न दातृ निकाय र सरोकारवालाहरु कसरी राजी भएर ? धेरैले प्रश्न गर्ने गरेका छन् । भवन निर्माण सम्पन्न भएपछि २०७३ माघ १४ गते स्थानीय विकासमन्त्री हितराज पाण्डेको उपस्थितिमा तामझामका साथ उद्घाटन गरिएको थियो । अहिले उक्त भवन स्थानीयले ताला लगाएर राखेका छन् । प्रयोग विहीन बन्दा भवन यत्तिकै थोत्रिने चिन्ता छ ।