धादिङबेसी कात्तिक २९ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका अन्तरगत लापाकी ८५ वर्षिय शान्तिमायाँ तामाङ दैनिक गिटी कुटी रहेको भेटिन्छिन् ।
भुकम्पले लापाबाट विस्थापित बनाएपछि धादिङबेसी पुछारबजार थोपल खोला किनारमा गिटी कुटेर जिविको पार्जन गरि रहेकी शान्तिमायाँलाई अहिले सम्म भोट हाल्न कसैले सिकाएको छैन ।
नेपाली काँग्रेस प्रतिनिधि सभा सदस्य दिलमान पाख्रिन र यसै क्षेत्रको प्रदेश क्षेत्र नं. १ का उम्मेदवार रमेश धमलाले धादिङबेसीमा बुधबार भोट माग्न घर दैलो अभियान चलाएका थिए । भोट माग्ने क्रमममा पुछारबजार बसपार्क छेउ थोपाल किनारमा गिटी कुटी रहेका २०-२५ जना मजदुर सामु भोट माग्न पुग्दा शान्ति मायाँले अहिले सम्म आफुले भोटहाल्न नजानेको बताएकी हुन् । यो पटक आफैले भोट हाल्न पाइन्छ हो ? दिलमान पाख्रिन सँग सोधेकी थिइन । उनले उम्मेदवारलाई बाबुहरुले चिताएको पुगोस् कामना समेत गरेकी थिईन ।
उक्त स्थानमा गिटी कुटेर जिविको पार्जन गरिरहेका अन्य मजदुरहरुले पनि आफुलाई कसैले भोट हाल्न नसिकाएको बताएका थिए । उम्मेदवार सँगै पुगेका काँग्रेस राप्रपा र नयाँ शक्तिका कार्यकताहरुले भोटहाल्न उनीहरुलाई सिकाएका थिए ।
दिउँसो ३ बजेबाट सुरुभएको घर दैलो कार्यक्रममा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले धादिङबेसी पुछारबजारबाट शान्तबजार सम्म प्रत्येक घर घर पुगी भोट मागेका थिए । धादिङबेसी बजार क्षेत्रमा बाँकी रहेको ठाउँहरुमा भोलि घरदैलो गरिने लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार समितिले बताएको छ ।
सदरमुकाम धादिङबेसीमा केहि दिन पहिला बाम गठबन्धनले पनि घरदैलो कार्यक्रम तथा चोक चोकमा कोण सभा गरेको थियो ।