धादिङमा लोकतान्त्रिक र वाम गठबन्धनमा को बलियो ?

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ७, २०७४

धादिङबेसी कार्तिक ७ । धादिङमा प्रतिनिधिसभा निर्वाचनका क्षेत्र नं.१ अन्तरगत धुनीबेसी नगरपालिका, थाक्रे गाँउपालिका, गल्छी गाँउपालिका, गजुरी गाँउपालिका, बेनीघाट रोराङ्ग गाँउपालिका र सिद्धलेक गाँउपालिका रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट विश्व अर्याल र माओवादी केन्द्र र एमालेको संयुक्त बाम गठबन्धनबाट भूमि त्रिपाठी चुनावी मैदानमा छन् ।

गत स्थानीय तहको निर्वाचनमा धादिङ १ का ६ स्थानीय तह मध्ये ५ स्थानीय तहमा नेकपा एमाले र १ स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको थियो । क्षेत्र नं –१ मा प्रमुख ५ राजनीतिक दल अन्र्तगत नेपाली कांग्रेसले २६ हजार २ सय ३१, नेकपा एमालेले ३६ हजार १ सय ४७, माओवादी केन्द्रले २३ हजार ७ सय २१, नयाँ शक्तिले ४ सय ७३ र राप्रपाले १ हजार ४ सय १४ मत ल्याएका थिए ।

यो क्षेत्रमा बाम दलको कूल ५९ हजार ८ सय ६८ मत पाएको थियो, जुन कांग्रेसले पाएको मत भन्दा ३३ हजार ६ सय ३७ मत बढी हो । यसकारण पनि यो क्षेत्रमा बाम गठबन्धनलाई टक्कर दिन काँग्रेसलाई धेरै मिहिनेतको खाँचो हुन सक्छ ।

धादिङ क्षेत्र नं–२ मा रुवीभ्याली, गंगाजमुना, नेत्रावती, खनियाबास, त्रिपुरासुन्दरी, ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिका गरी ७ स्थानीय तह रहेका छन् । ७ स्थानीय तह मध्ये नेपाली कांग्रेस ३, एमाले ३ स्थानीय तहमा र राप्रपा १ तहमा विजयी भएका थिए ।
यो क्षेत्रमा प्रमुख ५ राजनीतिक दल अन्र्तगत नेपाली कांग्रेसले ३० हजार २ सय, नेकपा एमालेले २३ हजार ८ सय २६, माओवादी केन्द्रले २२ हजार २ सय २८, नयाँ शक्तिले १ हजार १२ र राप्रपाले ३ हजार ३ सय ६९ मत ल्याएको थियो ।

यहाँ बामगठबन्धनले ४६ हजार ५४ मत पाएको थियो । यो मत नेपाली कांग्रेसले पाएको मत भन्दा १५ हजार ८ सय ५४ बढी हो । यो क्षेत्रमा मा नयाँ शक्ति र राप्रपाले नेपाली कांग्रेसलाई सघाए भने ४ हजार भोट कांग्रेसको बढ्नेछ । कांग्रेसले गठबन्धन बनाएपनि उ झन्डै ११ हजार भोटले पछाडि छ ।

यो त भयो. स्थानीय तहको निर्वाचनको आँकडा, यो आकडा अनुसार नै मत खस्छ भन्ने छैन, जनताहरु विचार आदर्श वा गठबन्धनको साथमा उम्मेदवारको कार्य शैली समेत हेरेर मतदान गर्ने गरेको इतिहास पनि छ । जनताले पुराना अनुहार भन्दा नयाँ अनुहार र वाम गठबन्धनको विरुद्ध लोकतान्त्रिक गठबन्धन उभिएकोले लोकतान्त्रिकमा अन्तरघात हुने सम्भावना कम देखिन्छ । वामगठबन्धनमा थोरै मात्र अन्तरघात वा भोट दायाँबाया भयो भने धादिङ क्षेत्र नं २ र यस भित्र रहेका दुबै प्रदेशहरु वामपन्थी गठबन्धनलाई चुनौती बन्न सक्छ । तथापी क्षेत्र नं. १ र यस भित्र रहेका प्रदेशमा भने लोकतान्त्रिक प्यानलले प्रतिस्पर्धा गर्न निकै मेहनत गर्नु पर्ने देखिन्छ ।

आगामी निर्वाचनका लागि धादिङका दुई क्षेत्रमा गरेर २ लाख ३३ हजार ४ सय ७५ मतदाता रहेका छन् ।