धादिङबेसीमा डेंगु आतङ्क, लार्भा नष्ट अभियान जारी

Avatar photo
Dhadingpost
शनिबार, अशोज २१, २०७४

धादिङबेसी आश्विन २१ । यतिबेला धादिङबेसी सदरमुकाम डेंगु आतङ्कमा छ । केहि सदरमुकामबासी डेंगुरोगबाट बच्न भ्रमणको लागि भन्दै सदरमुकाम बाहिरिन पनि थालेका भेटिएका छन् ।

अहिले सम्म ३० जना भन्दा माथिलाई डेंगु रोगको संक्रमण भैसकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस रोगले महामारि लिन सक्ने आकालनका साथ महामारी रोग नियन्त्रण विभागबाट स्वास्थ्यकर्मी धादिङ आए सँगै ‘खोजेर नष्ट गर’ अभियान सुरु गरिएको छ, अहिले सम्म सदरमुकामको ७६५ घरमा डेंगु सार्न सक्ने लामखुट्टेको लार्भा भेटिएको र नष्ट गरिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य अधिकृत महेश्वर श्रेष्ठ बताउनु भयो ।

२ हजार पन्ध्र घरमा पुगेको टोलीले १४ सय ५० भाडामा जमेको पानी नस्ट गरेको छ भने सो मध्य ७ सय ६५ घरमा डेंगु सार्न सक्ने लामखुट्टेको लार्भा भेटिएका थियो ।

महामारी रोग नियन्त्रण महाशाखाका दुई विशेषज्ञ सहितको १५ टोलीले सदरमुकामको घरहरुमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरी फर्किएको छ । नगरपालिका, सरकारी कार्यालय, विभिन्न संघसस्था र स्थानिय निकाय टोलसुधार समितीको समन्वयमा टोलटोलमा गई काम सञ्चालन गरीएकाले आगामी दिनमा केही हदसम्म नियन्त्रणमा आउने भन्दै खोजेर नस्ट गर अभियान लाई जारी राखिने वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताउनु भयो ।

डेंगु ज्वरोको लक्षण:
– अचानक भाइरल ज्वरो सुरु हुन्छ र तीनदेखि पाँच दिनसम्म रहन्छ ।
– बेसरी टाउको दुख्छ, जोर्नी तथा हातखुटृाका मांशपेशीहरू दुख्छन्, आँखापछाडि पीडा हुन्छ र रातो दाग पनि देखिन्छ ।
– कतिपय गम्भीर बिरामीहरूमा रगत पनि आउँछ, जसलाई डेंगु रगतजन्य ज्वरो (Dengue Hemorrhagic fever) पनि भनिन्छ ।

रोकथामका उपायहरू:
लामखुटृेको टोकाइबाट बच्ने नै यसको मूल रोकथामको उपाय हो । यसको लागि झुल लगाएर मात्र सुत्ने वा झ्यालमा जाली लगाउने, शरीर पुरै ढाक्ने कपडा लगाउने, राम्रो वासस्थानको व्यवस्था गर्ने, सरसफाइ गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र लामखुटृे मार्ने औषधि छर्नेजस्ता उपायहरु गर्नुपर्ने हुन्छ ।

डेंगु ज्वरो महामारीको रुपमा पनि फैलन सक्ने भएकोले निम्न कुरामा विशेष ध्यान दिनुहुन अनुरोध छ:
– साधारण झुल वा औषधि प्रयोग गरिएको झुल प्रयोग गर्ने ।
– डेंगु ज्वरोकोे शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा पठाउने वा लैजाने ।
– यससम्बन्धी समुदायमा कुराकानी गर्ने र चेतना फैलाउने ।