मंसिरको चुनाव पछि नेपाली काँग्रेस पहिलो शक्ति बन्छ -सिंह

Avatar photo
Dhadingpost
सोमवार, अशोज ९, २०७४


कवि थापामगर,
धादिङ आश्विन ९ ।
नेपाली काँग्रेस धादिङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता प्रकाशमान सिंहले मंसिरको चुनाव पछि नेपाली काँग्रेस पहिलो शक्ति बन्ने बताउनु भएको छ ।
वडादशैं तथा शुभ दीपावली २०७४, नेपाल संवत ११३८ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बेल्दै सिंहले मंसिरमा हुने केन्द्र र प्रदेशको चुनावमा नेपाली काँग्रेस नै पहिलो हुने दावी गर्नुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसका नेताहरुले धेरै पाठ सिकेको बताउँदै निर्वाचनमा एक काँग्रेसले अर्को काँग्रेस चिन्न नसक्ने प्रवृत्ति हटाउन कार्यकर्तालाई आग्रह समेत गर्नु भयो ।

अब हुने निर्वाचनमा जनताको मन जित्न सक्ने उम्मेदवार छानेर सिफारिस गर्न आग्रह गर्दै केन्द्रले बनाएको मापदण्ड अनुरुप तीन जनाभन्दा बढीको नाम नपठाउन समेत सिंहले काँग्रेस जिल्ला नेतृत्वलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा न्याय, कानुन तथा संसदीय व्यवस्था राज्यमन्त्री दीलमान पाख्रिन, पूर्व सांसद रामनाथ अधिकारी, नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला लगायतले संघ र प्रदेशको निर्वाचनमा नेपाली काँग्रेसभित्र देखिएका मतभेद अन्त्यगरी एक भएर निर्वाचनमा जाने परिस्थिति सिर्जना गर्न आग्रह गर्नुभएको थियो ।