धादिङ आश्विन ९ । धादिङको सिद्धलेक सलाङ गाउँ पर्यटन वर्ष गाउँको रुपमा घोषणा भएको छ । ३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले नेपालका तीन पर्यटकीय गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गर्ने क्रममका धादिङको सिद्धलेक सलाङ गाउँ पनि पर्यटन वर्ष गाउँको रुपमा घोषणामा परेको हो ।
भिटोफ नेपालले सिद्धलेक सलाङको आमकोटको होम स्टे र सिद्धलेकको धार्मिक महत्व, पर्यटकलाई लोभ्याउने मनमोहक दृष्यहरु यस अघि २ पटक अवलोकन गरि सकेको थियो । पर्यटन विकासको सम्भावना बोकेको सिद्धलेकजहाँबाट धादिङका सबै गाउँपालिका अवलोकन गर्न सकिन्छ र होम स्टेको रुपमा विकास भएको सलाङ आमकोटको अध्ययन र अनुगमन पछि सिद्धलेक सलाङ गाउँलाई पर्यटन वर्ष गाउँको रुपमा घोषण गरिएको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले बताउनु भयो ।
विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले सामुहिक रुपमा तीन गाउँको घोषणा गरेका हुन् । धादिङको सिद्धलेक सलाङ गाउँ सँगै अन्य २ मा स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई वर्षको रुपमा घोषणा गरेका छ ।
गाउँ पर्यटनका दृष्टिले अति मनमोहक, स्थानीय परिकार र सँस्कृतिको संरक्षण तथा अतिथि सत्कार लोभलाग्दो रहेका कारण दजनौं गाउँबाट ती गाउँ छानिएको भिटोफका अध्यक्ष सापकोटाले बताउनु भयो ।
धादिङ सिद्धलेक सलाङ गाउँमा आमकोट र मैदान गरि २६ घरधुरी, कुन्छालमा ४ घरधुरी र पित्लेकमा ७ घरधुरीमा होमस्टे सेवा संचालनमा छ ।