धादिङ भदौ २५ । तत्काल मुआब्जा वितरणको काम सुरु गर्न बुढिगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाले सरकारलाई दवाव दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर डुबान क्षेत्रका बासिन्दाले चालू आर्थिक वर्षभित्र सक्ने गरी मुआब्जा वितरणको काम तत्काल सुरु गर्न माग गरेका हुन् । भेटमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई समेत सहभागि रहेको थियो । आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि समेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रभावित क्षेत्रमा मुआब्जा वितरणको कामलाई समेत सरकारले बेवास्ता गरेपछि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु परेको बताए ।
सरकारले आयोजना डुबान प्रभावित क्षेत्रका लागि करिव ६५ अरव रुपैयाँ आवश्यक पर्ने भएपनि १० अर्ब रुपैयाँ विनियोजन गरेपछि सरोकार समितिले थप बजेटको व्यवस्था गर्न प्रधानमन्त्री देउवासँग पुनः आग्रह गरेको हो । प्रभावित २७ वटा साविकका गाविसमध्ये ६ वटामा पनि मुआब्जा वितरणको काम नभएपछि त्यसको तत्काल व्यवस्था गर्न दवाव दिन आउनु परेको सरोकार समितिका संयोजक हरेराम ढकालले बताए ।
१२ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने प्रचण्ड सरकारले निर्णय गरेको थियो ।