संयम भएर चुनावमा होमिनुपर्छ -केसी

Avatar photo
Dhadingpost
शनिबार, भदौ १७, २०७४

पोखरा भदौ १७। नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क सदनको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन गराउँदै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय तहको निर्वाचन लगत्तै अर्को निर्वाचन आइसकेकोले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

केसीले स्थानीय तहको निर्वाचनमा नेता कार्यकर्तामा निराशा र अक्रोश पैदा भएको भएपनि त्यसबाट संयम हुँदै निर्वाचनमा होमिनु पर्नेमा जोड दिए ।

अबको निर्वाचनमा पनि कांग्रेस पराजित भए लोकतन्त्र र प्रजातन्त्रका साथै राजनीतिक क्रान्तिबाट प्राप्त उपलव्धि गुम्ने खतरा हुने भन्दै सभापति केसीले नेपाली कांग्रेसलाई विजयी गराउन सबै तहका नेता कार्यकर्ता सक्रिय हुनुपर्ने खाँचो औंल्याए ।

उनले धादिङ र पोखरा बीच लामो समयदेखि सुमधुर सम्बन्ध रहेको भन्दै यसलाई कायम राख्न आग्रह गरे । उनले भने, ‘तपाइँहरू पोखरामा रहेर निकै मेहनत गर्नुभएको छ । पोखरावासीमा अमिट छाप छोड्नु भएको छ । यसका कारण धादिङ र पोखराको समन्ध विशेष प्रकारको छ । कांग्रेसको राजनीति जहाँ बसेर गरेपनि हुने तर भोट हाल्न जिल्ला नै फर्कनुपर्नेमा केसीले जोड दिए । कास्की कांग्रेसको राजनीतिलाई अघि बढाउन धादिङवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले धादिङवासीका लागि जस्तोसुकै सहयोग गर्न आफू र कास्की कांग्रेस प्रतिवद्ध रहेको बताए ।

निर्वाचन समितिका संयोजक कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख डा. सूर्य अधिकारी, सदनका निवर्तमान सभापति केदार धमला, धादिङ–पोखरा सम्पर्क समाजका महासचिव हरि पन्त, निर्वाचन समितिका सदस्य मोहन पण्डित, निर्वाचित सदस्य लालप्रसाद पाठक लगायतले बोलेका थिए ।

गत भदौ ३ गतेसदनको सभापतिमा लालप्रसाद पाठक, वरिष्ठ उपसभापतिमा यादुप्रसाद ढकाल, उपसभापतिमा टेकबहादुर थपलिया र इन्द्रबहादुर अधिकारी, सचिवमा माधव लम्साल, सहसचिवत्रयमा नारायण दुवाडी, सीता श्रेष्ठ र वेणु पण्डित, कोषाध्यक्षमा किशोर भट्ट, सहकोषाध्यक्षमा देवराज अर्यालका साथै कार्यसमिति सदस्यमा लालकाजी श्रेष्ठ, जयराम थपलिया, लालबहादुर घले, हरिकृष्ण सिटौला, राकेश श्रेष्ठ, राजु थापा, शान्ता धरेल, नवीन थपलिया, कुमार पन्त र भरत कडरिया चयन भएका थिए । धादिङपोष्टका लागि हरिपन्त पोखरा