उपत्यका-धादिङ जनसम्पर्क मञ्च नीलकण्ठ गठन

Avatar photo
Dhadingpost
शनिबार, भदौ १७, २०७४

धादिङ भाद्र १७ । धादिङबेसी सदरमुकाम र आसपास क्षेत्र फैलिएको नीलकण्ठ नगरपालिकाबाट काठमाडौआई विभिन्न पेशा व्यवसाय गर्दै आएका माओवादी केन्द्र निकट उपत्यका धादिङ जन सम्पर्क मञ्च नीलकण्ठ गठन गरिएको छ ।

नेपाल सरकारका शहरी विकास राज्य मन्त्री छमबहादुर तमुको प्रमुख आतिथ्यतामा भएको जन सम्पर्क मञ्च नीलकण्ठको प्रथम भेलाले कमल जमकट्टेल अध्यक्ष रहने गरि २५ सदस्यीय कार्यसमति गठन गरेको हो ।

भेला उद्घाटन गर्दै राज्य मन्त्री तमुले अब प्रदेश र केन्द्रको चुनावको मिति तोकिई सकेकोले निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भएको छ । स्थानीय तहको निर्वाचन सकिने तयारी छ, अब प्रदेश र केन्द्रको निर्वाचन पछि नेपालको मुहारै फेरिने गरि परिवर्तनको आभास जनताले गर्ने समेत उहाँले बताउनु भएको थियो ।

कार्यक्रमका विशेष अतिथि माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेलले धादिङमा पराजय आफ्नै कारणले भएको र तालमेलको रणनीतिले समेत पार्टी पछाडी परेको बताउँदै अब चुनाव जित्ने गरि संगठन परिचालन गरिने बताउनु भएको थियो ।

“चुनाव र मतदान प्रक्रियालाई जाँडको सङ्ज्ञा दिँदै जमकट्टेलले काँग्रेस र एमालेका कार्यकर्ता आन्तरिक जति विवाद भएपनि जाँड खान थालेपछि पार्टीको गुण गान गाउने र जाँड लाग्दै गएपछि शरिरको लुका फुकालेर झण्डा बनाई आफ्नो पार्टीको नारा लगाउने गछर्न् तर माओवादी केन्द्रमा उल्टो देखियो नीति योजना र छलफलमा कुनै विवाद नगर्ने जब जाँड खान सुरु भएपछि हाम्रो पार्टी यस्तो उस्तो भन्ने र जाँड लागि सकेपछि यो पनि पार्टी हो ? भनेर सत्तसराप मा उत्रने गर्छन् ।” मुख्य हारको यहि भएको जम्कट्टेलले बताउनु भएको थियो ।

अतिथिहरु माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य विष्णुकुमार श्रेष्ठले चुनावका लागि कोहि कसैले बार्गेनिङ गर्न नहुँने बताउँदै प्रदेश र केन्द्रमा माओवादीले जित्नै पर्ने र त्यसका लागि चुनावमा सुस्ताउने अधिकार कुनै नेता कार्यकर्तालाई नभएको बताउनु भएको थियो ।

केन्द्रिय सल्लाहकार समिति सदस्य तथा धादिङ कम्यूनिष्ट आन्दोलनका अगुवा वेदनीधि अधिकारीले विधिमा पार्टी चल्न नसकेर धादिङको पार्टी पछाडी परेको बताउँदै नेता कार्यकर्तालाई विधिमा चल्न आग्रह गर्नुभएको थियो ।

यस्तै माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले पार्टी व्यक्ति हुनै नसक्ने पार्टी संचालन र कार्यकर्ता परिचालनमा समस्या देखिएको अब यसको हल गरिने बताउँदै चुस्त दुरुस्त संगठन बनाईने र धादिङमा केन्द्र र प्रदेशको चुनाव पार्टी एकता वद्धभएर जितलाई सुनिस्चित गरिने बताउनु भएको थियो ।

कार्यक्रममा माओवादी केन्द्र धादिङका सहसचिव तथा नीलकण्ठ नगरपालिकाका उप-प्रमुख मनराज भण्डारी, जिल्ला सचिवालय सदस्य दिपक विश्वकर्मा, माओवादी केन्द्र पर्यटन विभाग इञ्चार्ज कमल सापकोटा, बालाजु कराँतो डोजोका प्रमुख एबम् अन्तराष्ट्रिय रेफ्रि ध्रुवविक्रम मल्ल, नीलकण्ठ नगरपालिकामा विजयी तथा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवारहरुको आतिथ्यता रहेको थियो ।