धादिङबेसी भाद्र ८ । आज हरितालिका तीज, हरित (हरण गरिएकी) आलिका(शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन् ।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्ती सहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरहरूमा आज बिहानैदेखि घुँइचो लागेको छ ।
भगवाको आराधना सहित आजको दिन महिलाहरूले तीजको गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने चलनस्वरूप विभिन्न धार्मिकस्थलमा महिलाहरूले मादल घन्काउँदै नाचगान गरेको दृश्य देखिन्छ ।
धादिङको सदरमुकाम धादिङबेसी, बेनिघाट रोराङ गाउँपालिका चरौदी, सुनौलाबजारको पुरानो मुकाम रहेको मैदान, गुम्दी सातदोबाटो, फुुलखर्क, नलाङको ठाँटी, मलेखु, धार्के, लगायतका शिव मन्दिरहरुमा आज विषेश साँकृतिक कार्यक्रम हुने बताईएको छ ।