चुनाव नजिकियो, पत्रकार महासंघमा सोसाइटीको नेतृत्व भट्टले गर्दै

Avatar photo
Dhadingpost
शनिबार, साउन २८, २०७४

काठमाडौं, साउन २८ । नयाँ शक्ति नेपाल निकट पत्रकारहरुको संगठन नेपाल प्रेस सोसाइटीले संगठनका संयोजक रुद्र भट्टको नेतृत्वमा नेपाल पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने निर्णय गरेको छ ।

सोसाइटीको शनिबार सम्पन्न बिस्तारित बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सोसाइटी नेपाल पत्रकार महासंघलाई सम्पूर्ण श्रमजिवी पत्रकारहरुको साझा संगठनको रुपमा विकास गर्नुपर्ने सवालमा दृढ छ । उक्त उद्देश्य पूर्तिका लागि महासंघको आसन्न २५औं महाधिवेशनमा संगठनले सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ ।’

सोसाइटीले महासंघको आसन्न महाधिवेशनमा विभिन्न संगठनसँग वार्ता र संवादका लागि सुदर्शन खतिवडा, विदुर खड्का र केशव अर्याल रहेको तीन सदस्यीय वार्ता समिति समेत गठन गरेको छ ।

यसैगरी योगेन्द्र प्रताप शाहीको नेतृत्वमा निर्वाचन समन्वय तथा व्यवस्थापन समिति गठन गरेको सोसाइटीद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

‘लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंबाट केन्द्रीय पार्षदमा निर्वाचित शिव बस्नेत, नेपाल पत्रकार महासंघ बाँके शाखाबाट निर्वाचित केन्द्रीय पार्षद विरेन्द्र पुन, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्वसहसचिव विष्णु आचार्यलगायतलाई नेपाल प्रेस सोसाइटीमा स्वागत गर्दै संगठनको केन्द्रीय परिषद सदस्यको जिम्मेवारी दिने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।