दुई सातादेखि अन्धकार छ, मेयर कै गाउँ

Avatar photo
Dhadingpost
बिहिबार, साउन ५, २०७४

नीलकण्ठ, निगालपानी साउन ५ । हरेक पटकका चुनावमा नेपाली काँग्रेसका नेता भिम ढुङ्गानाले जे भन्यो त्यहि हुने तात्कालिन गाविस मुरलीभञ्झ्याङको नीगालपानी यति खेर अन्धकारमा छ । ढुङ्गानाको राजनीतिलाई यति धेरै माथि उठाउने यस क्षेत्रमा ढुङ्गानाले विकासलाई पनि निकै ठुलो योगदान गरेका छन् । तर यहि ठाउँ आज अन्धकार बनेको छ ।

बिजुलीको ट्रान्समिटर पड्किँदा नीलकण्ठ नगरपालिका वडा न ९ का बासिन्दा दुई साता देखी अन्धकारमा बस्न विवस बनेका हुन् । हिजो भिम ढुङ्गानाले एक कल फोन गरेको आधारमा गाविसका हरेक काम हुन्थ्यो । आज मेयरमा निर्वाचित भएपछि किन काम हुन सकेको छैन आश्र्चय व्यक्त गर्दै एक स्थानियले बताए ।

ट्रान्समिटर बिग्रेपछि निगालपानी, चन्दनथोक र झगरेमा बत्ति नबल्दा स्थानीयहरु अन्धकारमा बस्न वाध्यभएका हुन् । बत्ति नभएपछि रेडियो सुन्न र टेलिभिजन हेर्न मोवाइल चार्ज गर्न नपाएको स्थानियले गुनासो गरे ।

‘दुई साता भयो हामीले त रेडियो सुन्न टिभी हेर्न तथा मोवाइल पाएका छैनौ ।’ स्वयंसेविका शान्ता लम्सालले भनिन् । बत्ती नहुँदा मिल बन्द भएकाले जाँतोमा मकै पिँधन परेको स्थानियले बताए ।

‘बत्ती नभएपछि मिल चलेको छैन । जाँतोमा मकै पिँधेर बस्तुभाउलाई कुँढो खुवाउनु परेको छ ।’ अर्का स्थानिय कृष्ण नेपालीले भने ।
बत्ति नभएकै कारण मोबालको चार्ज सकिएपछि पाल्पा, ज्यामिरे र धादिङबेसीमा रहेका आफन्तकोमा जान परेको छ । ‘ज्यामिरे पुगेर मोबाइल चार्ज गरेको जानकारी दिँदै स्वयंसेविका लम्साल भन्छिन् ‘एकलाईन बाँकी छ भोली जान्छु ।’

विद्युत प्राधिकरण धादिङबेसीमा गुनासो गरेपनि प्राधिकरणका कर्मचारीले हुन्छ भनेको काम नगरेको गुनासो गरे वडा सदस्य सीताराम श्रेष्ठले ।