राष्ट्र सेवकहरुको राष्ट्रविरोधी कार्य कहिले सम्म ?

Avatar photo
Dhadingpost
सोमवार, साउन २, २०७४

वैदेशिक रोजगारमा जाने नेपालीहरुको ब्यवस्थापनमा सुधार ल्याउनको लागि केहि समय पहिला नेपाल सरकारको पक्षबाट युएईमा नेपाली कामदारको अवस्था बुझ्न पुगेका प्रभु शाह लगायतको टोलीले युएई भ्रमण सकेर फर्किने बित्तिकै घरेलु महिला कामदार र भिजिट भिषामा सुधार गर्नुपर्ने भन्दै बैदेशिक रोजगारमा जाने महिला कामदार र भिजिट भिषा बन्द गरे तर समस्या सुधार हुनुको साटो झन विकराल अबस्था श्रृजना भयो । भिजिटमा जानेहरुको संख्या घट्नुको सट्टा झन बढयो भने भिजिट भिषा बन्द हुँदा झन दलालहरुले मोटो रकम लिएर ठगी गर्न थाले । त्यती मात्र नभएर विदेश पुगेर अलपत्र पर्नेको संख्या दिन प्रतिदिन बढ्न थाल्यो ।

महिला कामदारहरु धेरैले श्रम स्वीकृती नपाएर वेरोजगार बन्न पुगे, कोही घर फर्किदा श्रम स्विकृती नपाउने डरले विदेशमै तडपिएर बस्न विवश छन । तै पनि प्रभु शाहहरुको ब्यवस्थापनले केही सुधार ल्याउन सकेनन् । नेपालबाट घरेलु कामदारको रुपमा खाडी मुलुकमा जाने महिला कामदारहरुको ब्यबस्थापन र भिजिट भिषामा सुधार गर्ने भन्दै वैदेशिक रोजगार बिभागले ल्याएको नियमको कारण यतिबेला स्वदेशबाट बिदेश जाने र बिदेशबाट स्वदेश फर्किने महिला कामदारहरुमा अन्योल श्रृजना भएको छ ।

श्रम बिभागले घरेलु महिला कामदार र भिजिट भिषामा सुधार ल्याउने भन्दै विकल्प विना नै नियम बनाउने र घरबिदामा आएका महिला कामदारहरुलाई श्रम सिफारिस नदिने कुराले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका महिलाहरु नेपाल फर्किन नसकेको धेरैको गुनासोे छ । विदेशको नियम र सम्झौता पत्र अनुसार बिदामा आएका कामदारहरुलाई श्रम स्विकृति नदिएर रेमिटेन्स भित्राउने कामदारलाई रोक्दा नत देशलाई फाईदा छ नत श्रमिकहरुलाई नै । मलेसिया, साउदी अरब, युएई, बहराईन, ओमन, कुवेत, कतार लगायत देशमा काम गरेर बिदामा फर्किने तयारीमा रहेका नेपाली महिला कामदारहरु नेपालमा श्रम स्विकृती नहुने कुराले गर्दा नेपाल फर्किन नसक्नु कतिको दुखद होला ।

नेपाल सरकारको तलब भत्ता खाएर बसेका कर्मचारीहरु र दलालहरुको मिलेमतोमा देशदेखि विदेशसम्म नेपालीहरु ठगीने गरेका छन । श्रम विभागदेखि अध्यागमन विभागसम्मको मिलेमतोमा धेरै नेपालीहरु ठगीने गरेका धेरै उदाहरणहरु जताततै भेटिने गरेको छ ।

सम्बन्धित ब्यक्तिले आवश्यक कागजातहरु लिएर सम्बन्धित निकायसम्म जाँदा काम बन्दैन उल्टै दुव्र्यवहार गरि फिर्ता पठाईन्छ तर त्यही फाईलहरु दलाल मार्फत जाँदा दुई दिनको काम दुई मिनेटमा हुने गरेको छ । दलाल र कर्मचारीको मिलेमतोमा सोझा नेपालीहरु दिन प्रतिदिन ठगीदै छन् । नक्कली कागजाजहरु बनाएर पैसा कमाउन पल्केका दलाल र सरकारको नुनपानी खाएर जनताको सेवा गर्न बसेका बैधानिक लुटेराहरुको मारमा नेपाली जनता दिनप्रतिदिन बलिको बोका बन्न विवश छन । नेपालमा बसेर ठग्न पल्केका दलालहरुले विदेशमा रहेको नेपाली दुतावासकोे नक्कली कागजाजदेखि नक्कली भिषा, नक्कली सहि छाप समेत प्रयोग गरेको पाईएको छ । खै त्यहाँ सम्बन्धित निकायको ध्यान गएको ? सर्बसाधारण जनतालाई सेवा दिन बसेका नेपाल सरकारका कर्मचारीहरुले खुलेआम ठगी धन्दा गरि रहेका हुन्छन तर त्यहाँ न त प्रशासनले कार्वाही गर्छ न त सम्बन्धित निकायले छानबिन नै गर्छ यस्तै पिडाको बिचमा नेपाली जनताहरु बाँच्न विवश छन् ।

नेपाल एउटा यस्तो देश भएको छ जहाँ कानुन र नियम धेरै बन्छन तर ब्यवहारमा लागु हुदैन किनकी यहाँ धेरै जस्तो कानुन र नियम उल्लंघन गर्ने नियम–कानुन बनाउनेहरु र सोही मातहतका कर्मचारीहरु नै हुने गरेको पाईन्छ । राजनैतिक अस्थिरताको कारण आफु अनुकुल नियम र कानुन नभए बन्द, हडताल, चक्काजाम देखि लिएर सडक आन्दोलन समेत हुने गर्दछ । यसरी हरेक प्रकारको ब्यवहारको मार भने गरिब, निमुखा जनताले नै भोग्नु पर्ने वाध्यता रहेको छ । यस्तै वाध्यताबाट आजित भएका नेपालीहरु वाध्यताबश आफ्नो जन्मभुमी छोडेर बिदेशिने क्रम पनि तिब्र बन्दै गएको छ । एक त नेपालमा रोजगारीको श्रृजना गर्न सकिएको छैन भने भएपनि बन्द, हडताल, चक्काजामजस्ता गलत प्रवृतिको कारण दुख भोग्नु पर्ने बाध्यताले नेपालीहरु दिन प्रतिदिन विदेशिन क्रम बढदो छ । यसरी आफ्नो देशबाट बाध्य भएर विदेशीभुमिमा पुगेका नेपालीहरुले विदेश गएर पनि सुख नपाउदा भने धेरै नेपालीहरु निराश बनेका छन् ।

युएईमा कार्यरत नेपाली श्रमिकहरुको अवस्था र समस्या समाधानको लागि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डकी उपसचिब निर्मला थापाको नेतृत्वमा गत ७ जुलाईमा अशोक गौतम, नीर कुमार केसी, सुचना अधिकारी तारा बहादुर कुँवर, श्रम मन्त्रालयकी पबित्रा घिमिरे लगायत ५ सदस्सिय टोली युएईमा आए तर युएईमा कार्यरत नेपाली मजदुरहरुको समस्या र समाधानको त कुरा छोडौ कुनै मजदुरले आएको भन्ने पनि पत्तो नपाई फर्किएका छन । के राष्ट्रको जिम्मेवार निकायबाट आएका ब्यक्तिहरुको यो तरिका ठिक हो ? के नेपाली कामदार भनेको नेपाली दुतावास हो ? हैन भने उनिहरुले कुन चाही नेपाली मजदुरहरुको क्याम्पसम्म गएर मजदुरहरुको समस्याहरु बुझे ? उनिहरु नेपाली मजदुरको समस्या बुझ्न युएई आएको हो कि घुम घाम गरेर राष्ट्रको ढुकुटी रित्याउन मात्रै ? झन्डै चार लाखको हाराहारीमा नेपाली रहेको युएईमा जिम्मेवार निकायका मानिसहरु आएर गर्ने ब्यवहार यहि हो ? मजदुरहरुको समस्या समधानको लागि आउने अनि कुनै मजदुरसम्म नपुगि फर्किने गैर जिम्मेवार ब्यक्तिहरु नै मजदुर बिरोधी हुन भन्दा गलत नहोला ।

“आईदेउ खाईदेउ भत्ता पचाएर गईदेउ” यस्तो नीति खाडीको ४५ डिग्री गर्मीमा काम गर्ने मजदुरको लागी आवश्यक छैन । यस्ता ब्यक्तिहरुलाई खर्च गरेर अवलोकनमा पठाउने पैसा राष्ट्रको विकासमा खर्च गर्दा हुन्छ । विभिन्न बहानामा राष्ट्रको ढुकुटी सिध्याउनु भन्दा यस्ता अवसरवादी तत्वहरुलाई खाडीमा रहेका मजदुरहरु जस्तै आठ घण्टा अनिवार्य काममा लगाउने हो भने कम्तिमा जनताले छिटो छरितोे सेवा पाउन सक्छन कि ?

अन्तमा जुनै जोगी आए पनि कानै चिरेको भन्ने उखानको चरितार्थ नगरौं । सचेत बनौं सचेत नागरिकको परिचय दिउँ । देशदेखि विदेश सम्म भ्रमको खेती गर्न बन्द गरौं । निःस्वार्थ भावले देश बिकास सम्भव हुन्छ स्वार्थले क्षणिक फाईदा त होला तर जीवनभर पश्चाताप बाहेक केहि मिल्दैन । मजदुरहरुको समस्या बुझेर समाधान गर्न आउने नेपाल सरकारका कर्मचारीहरु आफ्नो देशको मजदुरलाई नै नभेटी फर्कने गैर जिम्मेवारीपनले समस्याको समाधान कसरी हुन्छ ? आफुले लिएको जिम्मेवारीलाई गहन ढंगले पुरा गरौ । झारा टार्ने काम बन्द गरौं । देशको माया देशमा बसेर देश र जनतालाई ठग्नेलाई हैन विदेशमा बसेर रगत र पसिना साटेर रेमिटेन्स भित्राउने नेपालीहरुलाई सवैभन्दा बढी छ । यो तीतो यथार्थलाई सवैले मनन गरौ ।