नीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम र वजेट सार्वजनिक

Avatar photo
Dhadingpost
शनिबार, असार ३१, २०७४

धादिङबेसी असार ३१ । जिल्लाको महत्वपूर्ण नगरपालिकाको रुपमा हेरिएको नीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम र वजेट सार्वजनिक गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलका नगरपालिकाको प्रमुख भिमप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम र उप मेयर मनराज भण्डारीले वजेट वाचन गरि एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो ।

३४ बुँदामा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिकालाई नमुना स्मार्ट सहरको रुपमा विकसित गर्ने परिकल्पनालाई कार्यान्वयन गर्न दीर्घकालीन सोचका साथ योजनाबद्ध क्रियाकलापका लागि नीलकण्ठ स्मार्ट सहर विकास प्राधिकरण ऐन जारी गरी प्राधिकरण गठन गर्ने । स्वाथ्य, शिक्षा, उद्योग व्यवसाय र रोजगारीलाई महत्वपूर्ण रपमा सम्बोधन गर्ने बताउनु भएको थियो ।

यस्तै उप प्रमुख मनराज भण्डारीले बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष ०७४/७५ मा कूल ६९ करोड १४ लाख २८ हजार ५ सय को वार्षिक बजेट विनियोजन गरिएको बताउनु भएको थियो । उक्त रकम मध्ये चालु तर्फ ४४ करोड ३३ लाख १६ हजार ४ सय अर्थात ६४.१२ प्रतिशत र पुजीगत तर्फ २४ करोड ८१ लाख १२ हजार १ सय अर्थात ३५.८८ प्रतिशत बजेट विनियोजन गरेको समेत उप प्रमुख भण्डारीले बताउनु भएको थियो ।

यस्तो छ ३४ बुँदामा समेटिएको नीति तथा कार्यक्रम
आदरणीय प्रमुख अतिथिज्यू,
विशिष्ट अतिथिज्यूहरु,
नगर उपप्रमुखज्यु,
नगर कार्यपालिका सदस्यज्यूहरु,
नगर परिषद्मा उपस्थित सम्पूर्ण अतिथि एवं आमन्त्रित महानुभावहरु ।

१. स्वतन्त्रता र स्वायत्तताको लागि भएको जनक्रान्ति, सशस्त्र संघर्ष र विभिन्न समयको जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति प्रथमतः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न जारी भएको नेपालको संविधान २०७२ ले परिकल्पना गरेको तीन तहको सरकार अन्तर्गत जनताको प्रत्यक्ष सहभागिता रहने स्थानीय सरकारको रुपमा नीलकण्ठ नगरपालिकाको नेतृत्व गर्ने अवसर प्रदान गरी हामीलाई विजयी गराउनुहुने सबै नगरबासीहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । राजनैतिक ब्यवस्था परिवर्तन र स्वतन्त्रताको लागि पुस्तौँसम्म सङ्घर्ष गर्दा देखिएको पछौटेपनको अन्त गर्दै पूर्ण लोकतान्त्रिक पद्धतिका साथ स्थानीय सरकारको माध्यमबाट नगरको विकास गर्ने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने दायित्व नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुको काँधमा आएको छ । उपलब्ध विविध साधन श्रोत, संघ संस्था तथा प्रदेश सरकारले उपलब्ध गराएको अनुदान, नगरपालिकाको आफ्नै आन्तरिक आयश्रोत, कर्मचारी प्रशासन र सम्पूर्ण नगरबासीहरुको न्यानो साथ एवं विभिन्न दातृ संघ संस्था तथा निकायसँगको सहकार्यको साथमा मतदाताहरुले सुम्पिएको यो ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । आगामी ५ बर्ष भित्र देशकै नमुना नगरपालिकाको रुपमा नीलकण्ठ नगरपालिकाको विकासको गतिलाई बढाउने प्रण गर्दछु ।

नगरसभा सदस्यज्यूहरु ,
२. अब म नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७४।०७५ को लागि नीति तथा कार्यक्रम तपाईहरु समक्ष पेश गर्दैछु । यो नीति तथा कार्यक्रम नेपालको संविधान २०७२ को भाग ४ धारा ४९, ५० र ५१ अनुसार राज्यले तय गरेको निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई पूरा गर्ने एक तहको रुपमा स्थानीय तह रहेको यथार्थलाई स्वीकार गर्दै निर्माण गरिएकोछ । स्थानीय तहको निर्वाचनका बेला नीलकण्ठ नगरलाई देशकै नमुना स्मार्ट शहरको रुपमा स्थापित गर्ने परिकल्पनालाई साकार पार्न आवश्यक पूर्वाधार निर्माण र सेवा क्षेत्रमा सुधारलाई मुख्य प्राथमिकतामा राखि नीति तथा कार्यक्रम निर्माण गरेको छु । चुनावी घोषणापत्रमा समावेश गरिएका सबै विषय पहिलो बर्षकै कार्यक्रममा समेट्न नसकिए पनि परिकल्पना अनुरुप नीति निर्माण गरि पुर्वाधार र वातावरण तयार गर्दै जाने गरि नीति तथा कार्यक्रम निर्माणलाई जोड दिएको छु । आगामी आर्थिक बर्षको पहिलो चौमासिक अवधि भित्रै नीलकण्ठ नगरपालिकाको समग्र विकास पुर्वाधार निर्माण र प्राथमिकताक्रम निर्धारण गर्न बृहत नगर तथ्यांक संकलन एवं प्रोफाइल निर्माण गर्ने काम लाई अघि बढाउनेछु । नगरको बस्तुगत तथ्यका आधारमा ५ बर्षे एकीकृत योजना तर्जुमा गरि आगामी बर्ष देखि सोहि रणनीतिका आधारमा बार्षिक नीति तथा कार्यक्रम तय गर्ने लक्ष राखेको छु । नीलकण्ठ नगरपालिकाको १४ वडामा विकासका पुर्वाधार निर्माण गरि चुस्त स्थानीय सरकार सञ्चालन गर्न विभिन्न विषयगत प्राथमिकता निर्धारण गरिएकोछ । अब म निर्धारित विषयगत प्राथमिकताका आधारमा तयार गरिएका नीति तथा कार्यक्रमलाई तपाईँहरु समक्ष प्रस्तुत गर्दैछु ।
३. नीलकण्ठ नगरपालिकालाई नमुना स्मार्ट सहरको रुपमा विकसित गर्ने परिकल्पनालाई कार्यान्वयन गर्न दीर्घकालीन सोचका साथ योजनाबद्ध क्रियाकलापका लागि नीलकण्ठ स्मार्ट सहर विकास प्राधिकरण ऐन जारी गरी प्राधिकरण गठन गरिनेछ । नगरको समग्र विकास ब्यवस्थापनका लागि एकीकृत नगर विकास योजना निर्माण गरी सोहीअनुसार विकास निर्माणका क्रियाकलाप अघि बढाइनेछ । सूचना तथा संचार प्रविधिको प्रयोग गरी नागरिक सेवा र सुशासन अभिबृद्धि गर्न खुल्ला स्थानीय सरकार कार्यक्रम सञ्चालन गरिनेछ ।
४. व्यवस्थित सडक सञ्जाललाई विकासको मुख्य आधारशिला मान्दै नीलकण्ठ नगरपालिकाका हरेक वडा कार्यालयसम्म बाह्रै महिना चल्ने व्यवस्थित सडक र चक्रपथ निर्माणलाई तत्काल शुरुवात गरि क्रमिक रुपमा कालोपत्रे गर्दै पक्की सडक निर्माण गरिनेछ । साथै नगरपालिकाका सबै बस्तीहरुसम्म पुग्ने सडकलाई स्तरोन्नति र आवश्यकताअनुसार नयाँ ट्रयाक निर्माण गरिनेछ ।
५. नगरबासीहरुमा ब्यापक स्वरोजगारीको सृजना गर्न एक वडा एक उत्पादनको नीतिसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायिक कृषि, उत्पादन, उद्योग र सेवा क्षेत्रमा वडाको विस्तृत सम्भाब्यता अध्ययन पश्चात् तथ्यगत प्रतिवेदनका आधारमा प्रभावकारी कार्यक्रमका साथ हरेक वडाको बेग्ला बेग्लै पहिचान स्थापित हुने राख्दै एक वडा एक उत्पादन कार्यक्रमलाई अघि बढाइनेछ । साथै नगरबासीहरुलाई आफ्नै नगरभित्र उत्पादित वस्तु र सेवाको उपभोगका लागि अभिप्रेरित गरिनेछ ।
६. जीवनका लागि स्वच्छ खानेपानीको आधारभुत आवश्यकतालाई उच्च प्रतथमिकता दिई नीलकण्ठ नगरपालिकालाई तिर्खामुक्त नगरको रुपमा स्थापित गर्न खानेपानीको मूल पहिचान गरी अभिलेखीकरणका साथ योजना निर्माण गरिनेछ । प्राकृतिक सम्पत्ति र श्रोतको रुपमा रहेको खानेपानीमाथि सबैको अधिकार स्थापित गर्न मूलमा हुने कुनै पनि विवाद र किचलोलाई शूुन्य सहनशीलताको नीतिअनुरुप समाधान गरिनेछ ।
७. नगरवासीको आधारभुत र गहन स्वास्थ उपचारका लागि नगर केन्द्रमा रहेको जिल्ला अस्पताललाई चिकित्सक सेवा र उपकरणमा सवल बनाउन सहयोग गरी हरेक वडा केन्द्रमा नगर स्वास्थ क्लिनिक स्थापनाको नीति लिइनेछ । स्वास्थ क्षेत्रसँग जोडिएका समग्र पक्षलाई समेट्दै एकीकृत स्वास्थ विकास कार्यक्रममार्फत योजनाबद्ध क्रियाकलाप अघि बढाइनेछ । साथै यसै आर्थिक बर्षदेखि जर्मन अन्तराष्ट्रिय नियोग जिआइजेडसंगको सहकार्यमा स्वास्थ क्षेत्र सुधार विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
८. शिक्षामा सवैको अधिकार र सरोकार स्थापित गर्न नगर क्षेत्रका विद्यालय र क्याम्पसहरुलाई आवश्यक सहयोग र सवलीकरण गरिनेछ । शिक्षकहरुको क्षमता बृद्धि र विद्यालयको भौतिक तथा शैक्षिक सेवा बृद्धि गर्न आवश्यक सहयोग गरि गुणस्तरीय शिक्षाका लागि अत्यावश्यक योजना सञ्चालन गरिनेछ । नगर क्षेत्रमा प्राविधिक उच्च शिक्षा प्रदान गर्न र दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालय स्थापना गर्न यसै बर्षदेखि आवश्यक पहल कदमी गरिनेछ ।
९. निर्वाहमुखी कृषिलाई ब्यवसायिक कृषिमा रुपान्तरित गरी कृषिलाई उत्पादनको विशेष श्रोतको रुपमा विकास गर्न किसान सहयोग कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायिक पशुपालनलाई प्रोत्साहन दिँदै पशु तथा बालीबीमा कार्यक्रमलाई कृषकहरुका बिच प्रभावकारी बनाउने योजना सञ्चालन गरिनेछ । विपन्न, दलित, आदिवासी सीमान्तकृतलगायत लक्षित वर्गका किसानलाई विशेष सहयोग नीति अवलम्बन गरिनेछ ।
१०. नगरक्षेत्रमा उद्योग व्यवसायको प्रबद्र्धन गर्न उद्यममैत्री कार्यक्रम सञ्चालन गरिनेछ । नगरक्षेत्र भित्र औद्योगिक क्षेत्र निर्माण गर्न सम्भाव्य स्थलको खोजी गरी आवश्यक पूर्वाधार विकासको प्रारम्भ गरिनेछ । ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक वातावरण दिनुका साथै साना तथा घरेलु एवं लघु उद्योगलाई सहयोग र प्रवद्र्धन गरिनेछ । नगरको ग्रामीण क्षेत्रमा उद्योग व्यवसायलाई प्रबद्र्धन गर्न नगरको करको दरमा ८० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएकोछ ।
११. नगरक्षेत्रमा हुने ठूला र गौरवका उद्योग तथा उत्पादन क्षेत्रमा लगानी गर्न नगर लगानी कोष स्थापना गरिनेछ । नगरपालिकाको पहल र नेतृत्वमा निजी क्षेत्रको साझेदारी हुने गरी स्थापना गरिने नगर लगानी कोषको सञ्चालनका लागि छुट्टै कानून निर्माण गरी लगानीको सुरक्षण र प्रवद्र्धन गरिनेछ ।
१२. नगरबासीको आवश्यकता अनुसारको आयोजनासंगै हरेक बर्ष कम्तीमा एउटा बार्षिक तथा बहूबर्षीय क्रमागत नमुना आयोजना सञ्चालन गरिनेछ । नमुना आयोजना अन्तर्गत यसै बर्ष धादिङवेशी घुम्न आउने आन्तरिक पर्यटक र नगरबासीलाई समेत आकर्षित गर्न बजार क्षेत्र नजिक कम्तिमा ४ वटा स्थानमा निशुल्क वाइफाई सुविधा सहितको नमुना पार्क निर्माण गरिनेछ ।
१३. नगरको मुख्य केन्द्रको रुपमा रहेको धादिङवेसी बजारलाई सफा, ब्यवस्थित र हरियाली सहरको रुपमा विकास गर्न आवश्यक कार्यक्रम यसै बर्षदेखि सुरु गरिनेछ । एक घर एक रुख कार्यक्रम राखी हरियाली बढाउनुका साथै बजारक्षेत्रको सरसफाई, र सडकपेटी व्यवस्थापनका लागि सवै बजारबासी र टोलसुधार समितिसँग सहकार्यसाथ कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. नगरको बजार तथा ग्रामिण क्षेत्रको सार्वजनिक जग्गाको खोजी तथा अतिक्रमण न्यूनीकरणका लागि नापी, मालपोत लगायतका निकाय र नगरबासी सरोकारवालाहरुसँग सहकार्यको माध्यमबाट अतिक्रमित र सार्वजनिक जग्गा छुट्याइनेछ । बजारक्षेत्रमा रहेका सँगै सडकहरुलाई व्यवस्थित गर्दै यसै बर्षदेखि थोपलखोला र अरुण खोलाको दुवैतर्फ किनारमा करिडोर नमुना मार्ग निर्माणको काम थालिनेछ ।
१५. भुकम्प पीडित नगरबासीको घरनिर्माण कार्य छिटो सम्पन्न गरी सरकारबाट घोषित गरेको अनुदान दिलाउन विशेष पहल गरिनेछ । जसका लागि आवश्यक प्राविधिक सेवा उपलब्ध गराउने र पुननिर्माण प्राधिकरणसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरण गरिनेछ । भुकम्पले घर भत्किएर पनि अनुदानग्राही सूचीमा नपरेका पीडितहरुलाई तत्काल पुनः सर्वेक्षण गरी आवश्यक सहयोग गर्न पुननिर्माण प्राधिकरणसँग सहकार्यसाथ आवश्यक कार्यक्रम अघि बढाइनेछ ।
१६. नगरपालिका क्षेत्रमा रहेको जग्गाको बढ्दो खण्डीकरण रोक्न यसै आर्थिक वर्षको सुरुदेखि नै जग्गा एकीकरण कार्यक्रमलाई प्राथमिकता दिइनेछ । नगरपालिकाको बजार क्षेत्रमा कम्तिमा ४ आना र ग्रामीण क्षेत्रमा कम्तिमा ५ आना भन्दा कम जग्गाको कित्ताकाटमा रोक लगाइनेछ । उत्पादनशील जग्गामा हुने घडेरी प्लटिङ तथा विक्रीलाई निरुत्साहित गर्दै नगरपालिकाको पूर्व स्वीकृति लिएर मात्रै घडेरी विकास व्यवसाय सञ्चालन गर्नु पर्ने नियमलाई अनिवार्य गरिनेछ । कुनै पनि बस्ती टोलमा शाखाबाटो वा नयाँ बाटो खोल्दा नगरपालिकाको पूर्व स्वीकृति लिएर मात्र खोल्नु पर्ने व्यवस्था गरिनेछ । बजार वा ग्रामीण क्षेत्रमा नमुना सामूहिक आवास कार्यक्रमलाई प्रोत्साहन तथा प्रबद्र्धन गरिनेछ ।
१७. नगरपालिका क्षेत्रमा नयाँ घर निर्माण गर्दा नक्सापाससहित भवन निर्माण संहिता मापदण्ड २०७२ लाई पूर्ण रुपमा पालना गर्न अभिप्रेरित गरिनेछ । नगरपालिका घोषणा हुनु अघि बनेका घरहरुलाई समेत नगरपालिकाले निर्धारण गरेको मापदण्डमा नक्सापास र नियमित गर्न आगामी आर्थिक बर्षको सुरुको तीन महिनाको समय दिइनेछ । त्यस पछि आउने घरधनीहरुलाई नयाँ घर निर्माणमा लाग्ने सरह शुल्क लिएर मात्र नियमित गरिनेछ । साथै अब उप्रान्त नगरपालिकाभित्र बन्ने घरमा कम्तीमा १ रुख र १ सेफ्टी ट्यांकी अनिवार्य गरिनेछ ।
१८. नगरको समग्र विकासका लागि सहकारी संस्था र सामाजिक संघ संस्थाहरु संगको सहकार्यलाई जोड दिइनेछ । स्थानीय संघ संस्था र क्लवहरुमार्फत सामुदायिक विकासका कार्यक्रमहरुमा सहकार्य गरिनेछ भने अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका कार्यक्रमहरुमा समेत प्रभावकारिता हेरी नगर बजेटबाट साझेदारी गरिनेछ । नगरक्षेत्रका सहकारीहरुको क्षमता विकास र पूर्वाधारका लागि सहयोग गर्दै सहकारीहरुले सञ्चालन गर्ने स्वरोजगारमूलक कार्यक्रममा नगरपालिकाले आवश्यक सहकार्य र लगानी गर्ने नीति लिनेछ ।
१९. अन्तराष्ट्रिय गैरसरकारी संस्था, नियोग तथा स्वदेशी लगानी कर्ताले नगर क्षेत्रमा विशेष लगानी तथा विकास आयोजना सञ्चालन गर्न चाहेमा हार्दिक स्वागत गर्दै लगानीमैत्री वातावरण सृजना गरिनेछ । साथै नागरिक सेवा र राजश्व अभिवृद्धि हुने आयोजनाहरुमा नगरपालिकाले आवश्यक ऋण लिई लगानी गर्न सक्नेछ ।
२०. नगरको पूर्वाधार विकास, स्वरोजगारमूलक कार्यक्रम, ब्यवसाय प्रवद्र्धन, सूचना प्रविधि, सरसफाई, चेतनामूलक तथा शैक्षिक कार्यक्रम र विकास निर्माण सम्बन्धी कुनै पनि कार्यक्रममा विभिन्न संघ संस्था, निकाय वा समुदायले लागत साझेदारीमा काम गर्न चाहेमा नगरपालिकाले आवश्यक बजेट बिनियोजन गर्नेछ ।
२१. नीलकण्ठ नगरपालिकाका हरेक योजना तथा कार्यक्रमहरुमा वातावरण तथा पर्यावरण र जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिइनेछ । नगर क्षेत्रका सामुदायिक, कबुलियती तथा सरकारी वनको संरक्षण, जडिबुटी विकास कार्यक्रम तथा भूसंरक्षण कार्यक्रम आवश्यकता अनुसार सञ्चालन गरिनेछ । प्लाष्टिकजन्य सामाग्रीलाई निरुत्साहित गर्दै वैकल्पिक घरेलुजन्य उत्पादनलाई प्राथमिकता दिइनेछ ।
२२. संविधानले लक्षित बर्गको रुपमा सम्बोधन गरेका महिला, बालबालिका, जेष्ठ नागरिक, द्वन्द्वपीडित, फरक क्षमता भएका नगरवासी, आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत समुदायको अधिकार, सेवा सुविधा, क्षमता विकास र समान अवसरका लागि विशेष प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ । सम्पूर्ण सार्वजनिक तथा सरकारी सेवा प्रदायक निकायहरुलाई लैंङ्गिक भेदभावमुक्त स्थलका रुपमा घोषणा गरिनेछ ।
२३. स्वस्थ, अनुशासन र राष्ट्रिय गरिमाका लागि खेलकुद र खेलाडीको प्रबद्र्घन गर्न कम्तिमा एक वडा एक खेलकुद मैदानको नीति अवलम्बन गरिनेछ । नगर तथा वडा तहमा विविध विधाका खेलकुद कार्यक्रम सञ्चालन गरी खेलाडीको पहिचान र क्षमता विकासको अवसर प्रदान गरिनेछ । धादिङवेसीको खुल्लामञ्च क्षेत्रलाई नमुना हरित खेल मैदानको अवधारणामा विकास गरी बहूआयामिक खेल तथा सभास्थलको रुपमा विकास गरिनेछ ।
२४. नगरको सफाई र आकर्षणः फोहोर मैलाको उचित विसर्जन र व्यवस्थापन भन्ने मान्यतालाई स्थापित गर्न नगर सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिनेछ । व्यवस्थित डम्पिङ साइट, कुचिकार र सफाई उपकरण तथा फोहोरमैला प्रशोधन प्रविधिमार्फत् नियमित र प्रभावकारी रुपमा नगर सरसफाई कार्यक्रमलाई अघि बढाइनेछ ।
२५. नीलकण्ठ नगरपालिकाको समग्र विकासका लागि पर्यटनलाई महत्वपूर्ण आधारशिलाको रुपमा प्रवर्धन गर्न नगरक्षेत्रभित्र रहेका वि पि गाउँ, चमेरे गुफा लगायतका पर्यटन गन्तब्य स्थलको पूर्वाधार विकास गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
२६. नगरक्षेत्र भित्रका सवै जातजाति, धर्म सम्प्रदाय, भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ । विभिन्न जात्रा, महोत्सव र पर्वहरुमा जातजाति विशेष सांस्कृतिक प्रबद्र्धनका लागि आवश्यक सहयोग गरिनेछ । कला, साहित्य र संस्कृतिलाई संरक्षण तथा प्रबद्र्धन गर्न आवश्यक तालिम, प्रतियोगिता, शोध तथा कार्यशाला जस्ता कार्यक्रम गरिनेछ । त्यसै गरी पठन संस्कृतिको विकास गर्न पुस्तकालय वाचनालयलाई सुव्यवस्थित गर्दै परम्परागत पुस्तकालय र आधुनिक पुस्तकालयको सम्स्थागत विकास चरणबध्द रुपमा गर्ने ।
२७. नगरको आन्तरिक आय अभिबृद्धि गर्न करको दायरालाई बढाउँदै सहभागितामूलक करनीति अवलम्बन गरिनेछ । स्थानीय सरकार सञ्चालनको मूल आधार स्थानीय आय भएकाले नगरबासी, उद्योग वाणिज्य संघ, टोलसुधार समितिहरु र स्थानीय विद्यालय तथा क्याम्पसहरुसँग सहकार्य गरी कर सचेतना तथा अभिबृद्धि कार्यक्रम मार्फत कर अभियानलाई अघि बढाइनेछ । नगरपालिकाको ग्रामीण भेगमा उद्योग व्यवसाय सञ्चालनलाई प्रोत्साहित गर्न मौजुदा करमा ८० प्रतिशतसम्म छुट दिने निति लिइनेछ ।
२८. नगरपालिकाको प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पेशागत, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै लगिनेछ । क्षमता विकासका लागि कर्मचारी तथा जनप्रतिनिधिहरुलाई आवश्यक तालिम तथा भ्रमणको ब्यवस्था गरिनेछ । नगरपालिकामा कार्यरत मौजुदा कर्मचारी र केन्द्र तथा विषयगत कार्यालयबाट समायोजन भै आउने कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न उत्प्रेरित गरिनेछ । भ्रष्टाचार र अनियमिताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी संविधान प्रदत्त सूचनाको हक सम्बन्धी कानूनको पूर्ण सम्मान र पालना गर्दै सार्वजनिक पहूँच र खुल्ला सरकारको अवधारणामा प्रशासन सञ्चालन गरिनेछ ।
२९. नगरपालिकाको लगानीमा हुने पुर्वधार निर्माण कायृलाई गुरस्तरीय बनाउन तेश्रो पक्षको स्वतन्त्र मुल्याङ्कनकर्ता नियुक्ति गरिने छ । तेश्रो पक्षले गरेको मुल्याङ्कनको आधारमा मात्र निर्माण कर्ता, उपभोक्त समिति वा ठेकेदारलाई रकम भुक्तानी गरिने छ ।
३०. नगरपालिका भित्र संचालित रेडियो तथा टेलिभिजनको क्षमता अभिबृद्धिको लागि सञ्चालन उपकरणमा अनुदान प्रदान गरिनेछ । नगर प्रशासन र नगरबासीहरुमा सूचना, समाचार, कार्यक्रम, लेख रचना सामग्रीमार्फत प्रकाशन प्रसारण गर्न नगरबाट सञ्चालित पत्रपत्रिका र अनलाईनलाई सहयोग गरिनेछ । नगर क्षेत्रका पत्रकारहरुको क्षमता बृद्धिका लागि तालिम तथा वृत्तिविकासका कार्यक्रम सञ्चालनमा सहयोग गरिनेछ ।
३१. नगरस्तरीय विपत् व्यवस्थापनका लागि एक विपत ब्यवस्थापन कोषको स्थापना गरिनेछ । कोषको रकम बृद्धि गरि प्रभावकारी काम गर्न विपत् क्षेत्रमा काम गर्ने गैह्रसरकारी संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
३२. नगरको विकासमा साझेदारी बढाउँदै समावेशीकरणलाई बढाउन नगर कार्यकापिका सदस्यहरुले नेतृत्व गर्ने विषयगत समितिका अलावा युवा, महिला, आदिवासी जनजाति, दलितवर्ग, किसान, शिक्षा, सहकारी खेलकुद जस्ता विषयलाई समेट्न नगरस्तरीय विषयगत समिति निर्माण गरि समन्वयात्मक क्रियाकलाप अघि बढाइनेछ ।
३३. विचारमा विविधता विकासमा एकताको सूत्रलाई आत्मसात गर्दै नगरविकासका लागि विभिन्न राजनीतिक दल तथा नागरिक समाजले अघिसारेका राम्रा योजनाहरुलाई अनुसरण गर्दै नगरविकास कार्यक्रममा समावेश गरिनेछ । विकासका लागि राजनीतिकर्मीको क्षमता विकास र अवलोकन भ्रमण जस्ता कार्यक्रम आयोजनामार्पmत सहकार्य र भाइचाराको सम्बन्ध अभिबृद्धि गरिनेछ ।
नगर सभाका सदस्य ज्यु हरु,
३४. नगरबासीको चाहना र आवश्यकताको सम्बोधनलाई उच्च प्राथमिकता दिई निर्माण गरिएको नीति तथा कार्यक्रम अनुरुपमा बजेट निर्माण र प्रभावकारी कार्यान्वयमार्फत विकासका लक्ष हासिल हुनेमा पूर्ण विश्वस्त हुँदै सबैको साथ सहयोगको अपेक्षा राखेको छु ।
धन्यवाद ।

यस्तो छ नीलकण्ठ नगरपालिकाको ०७४/७५ को वजेट
आदरणीय नगर सभाका अध्यक्ष एवं नगर प्रमुख ज्यू,
उपस्थित सम्पूर्ण नगर सभा सदस्य ज्युहरु ।
सभाको गरिमा बढाउन उपस्थित आमन्त्रीत सम्पूर्ण अतिथिगण !
१) नेपाली जनताको लामो समयको क्रान्ति, संघर्ष र बलिदानीको परिणाम स्वरुप जननिर्वाचित संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको शासकीय सत्ताको प्रयोग गर्ने तीन तहको सरकारमा जनसरोकारको हरेक सवालमा प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीय सरकारको रुपमा रहेको नीलकण्ठ नगरपालिकाको प्रथम नगरसभा आज हुँदैछ । राजनीतिक संकट र संक्रमणका कारण लामो समयसम्म कर्मचारी संयन्त्रले सम्हालेको स्थानीय निकाय स्थानीय सरकारको रुपमा आजको दिनसम्म आइपुग्दा देशमा ठूला–ठूला संघर्ष, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन भएका छन् । हजारौँ सहिद–बेपत्ता योद्धाहरुको बलिदान र लाखौँ नेपालीको संघर्षको परिणामको रुपमा मुलुकको शासकीय सत्ता सिंहदरवारबाट जनताको घर दैलो सम्म स्थानीय सरकारको माध्यमबाट आइपुगेको छ । यस नगरसभामा म ती हजारौँ सहिदरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरुको भावुक स्मरण गर्दछु । साथै सम्पूर्ण घाइते, अपांग योद्धाहरुप्रति सम्मान प्रकट गर्दछु । केन्द्रीक्रित सत्ताको श्रोत सम्म आफ्नो पहुँच पुर्याउन नसक्दा विकासका सामान्य पुर्वाधार र आधारभूत आवश्यकताका माग राख्न नसक्ने जनताका बिच स्थानीय सरकारको निर्वाचित प्रतिनीधिको हैसियतमा हामी उभिएका छौँ ।
२) राजनीतिक संक्रमण र नियमितताको अभावमा राजनीतिप्रति जनताको बितृष्णा चुलिएका बेला लामो समयको जनप्रतिनिधित्वको शुन्यतालाई चिर्दै शासकीय सत्ताको अभ्यास गर्ने एउटा तहकोे हैसियतमा स्थानीय तहको निर्माण र निर्वाचन भएको छ । यसले राजनीतिक प्रणाली संगै जनप्रतिनीधिहरु माथिको जनताको भरोसा पुर्नस्थापित हुने अवसर समेत प्राप्त गरको छ । यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै नीलकण्ठ नगरपालिकाको निर्वाचनमा हामीलाई अमूल्य मत दिई विजय गराउनुहुने सवै मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । आज मिति २०७४ साल आषाढ ३१ गते, म नीलकण्ठ नगरबासीहरुको प्रत्यक्ष मतले निर्वाचित उपप्रमुखको हैसियतमा आर्थिक बर्ष २०७४।०७५ को बार्षिक बजेट पेश गर्दैछु । जुन भरोसा र महत्वकांक्षाका साथ हामीलाई अमूल्य मत दिएर यो अवसर प्राप्त भएको छ त्यसलाई एकै पटकमा सम्बोधन गर्ने सामथ्र्य नभए पनि उपलब्ध श्रोत साधनलाई अधिकतम उपयोग गरि जन आवश्यकता अनुसारको योजना र सेवा क्षेत्रमा बजेट बिनियोजन गर्ने प्रयास गरेको छु ।
३) केन्द्रीय अनुदान र योजनाहरुको समानिकरण श्रोतको हस्तान्तरणमा भएको अन्यौलता संगै स्थानीय आयश्रोतको पहिचान यकिन नभैसकेको अवस्थामा सामुहिक आत्मविश्वासका साथ आन्तरिक आयको अनुमान गर्दै यथासक्य वडा स्तरबाट आएका योजना र नगरकार्यपालिकाले तय गरेका प्राथमिकताका क्षेत्रलाई विशेष महत्व दिई यो बजेट तयार गरेको छु । दीगो विकासका लागि राष्ट्रिय योजना आयोगले निर्माण गरेको चौधौँ योजनाले निर्धारण गरेका उद्देश्य र सन् २०३० सम्म नेपाललाई मध्यमस्तरीय आय भएको मुलुकमा स्तरोन्नति गर्ने दिगो विकास लक्ष हासिलगर्न स्थानीय तहले दिनु पर्ने प्राथमिकताहरुलाई समेत मध्यनजर गरेको छु ।
आदरणीय सभाध्यक्ष ज्यू !
४) अब म आर्थिक बर्ष २०७४।७५ को बजेटको मुख्य उद्देश्यलाई प्रस्तुत गर्दैछु । यस बर्षको बजेटको मुख्य उद्देश्य निम्न हुनेछन्ः
-संविधान बमोजिम प्राप्त कार्य जिम्मेवारी र दायित्व पूरा गर्ने ।
-नगर क्षेत्रका आर्थिक सामाजिक भौतिक पूर्वाधार क्षेत्रको विकास प्रभावकारी बनाउने
-उपलब्ध श्रोत साधनको सन्तुलित वितरण गरी क्षेत्रगत कार्यक्रमहरु संचालन गर्ने ।
-नगरविकासको विषयगत प्राथमिकता क्रम तोकि योजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने ।

५) उल्लेखित उदेश्य पुरा गर्नको लागि आगामी आर्थिक वर्षको बजेट प्रथामिकताहरु देहाय बमोजिम निर्धारण गरेको छु ।
-तिर्खामुक्त शहरका लागि खानेपानी आयोजना सञ्चालन
-हरेक वडासम्मको सडक पहूंचका लागि वडा कार्यालय सम्म बाह्रै महिना चल्ने सडक निर्माण
-नीजि क्षेत्र र सहकारी संस्थाहरु सगको सहकार्यमा उद्यम तथा ब्यवसाय प्रवर्धन
-आर्थिक तथा ब्यवसायिक विकासका लागि लगानीकोष खडा गरि साझेदारी र सहकार्य ।
-खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य, लक्षित वर्ग लगायतका आर्थिक सामाजिक भौतिक पूर्वाधारका कार्यक्रम ।
-संविधानले तोकेका कार्य जिम्मेवारी वहन गर्ने ।
-हस्तान्तरण भई आएका विषय क्षेत्रगत कार्यक्रमहरु ।
-शिक्षा र स्वास्थ सेवामा पुर्वाधार विकास र गुणस्तरीय सेवा
-प्राविधिक शिक्षालय स्थापना
-सूचना तथा संचार प्रविधि पुर्वाधार निर्माण
-कृषि, भेटेनरीको प्रवर्धन गरि कृषिमा आत्मनिर्भर तथा ब्यवसायीकरण
-लक्षित बर्ग अन्तर्गत महिला,बालबालिका, दलित, आदिवासी–जनजाती,जेष्ठ नागरिक, सिमान्तकृत र अल्पसंख्यक सामुदायिक हित एवं संरक्षण
-संस्थागत सुढृढीकरण ।
-पर्यटन पूर्वाधार तथा धर्म संस्कृति संरक्षण कार्यक्रम
-सुशासन र सेवा प्रवाह
-सञ्चार क्षेत्र विकास कार्यक्रम
-युवा स्वरोजगारमूलक कार्यक्रम
-सिंचाइ तथा उर्जा विकास कार्यक्रम
-पुनर्निमाणलाई प्राथमिकता तथा बिपद ब्यवस्थापन कोष

६) गतबर्षको बजेट समीक्षाः
आ.व ०७३/७४ मा यस नीलकण्ठ नगरपालिकाबाट केन्द्रीय तथा परिषद्बाट पारित योजनाहरु मध्ये केन्द्रबाट अनुदान प्राप्त योजनाहरुमा सडक सौर्य बत्ती, सडक बोर्ड अन्तर्गत सडक कालोपत्रे मर्मत, लागत साझेदारीमा सडक नाला निर्माण लगायतका योजना सम्पन्न भएका छन् । त्यसै गरि नगर पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बोलपत्र आव्हान गरि कल्भर्ट निर्माण, सडक स्तरोन्नती तथा कालोपत्रे कार्यको सम्झौता प्रक्रिया अघि बढाइएको छ भने सोही कार्यक्रम अन्तर्गत ब्याक हो लोडर खरिद कार्य सम्पन्न गरिएको छ । आ.व. ०७३÷७४ का लागि नगर परिषद्बाट पारित योजनाहरु मध्ये ५ वटा योजनाहरु कार्यान्वयनमा आउन नसकेता पनि बाँकी रहेका सम्पूर्ण योजनाहरु सम्पन्न भई फछ्र्यौट भएको देखिन्छ ।
सभा अध्यक्ष ज्यू !
७) अब म नीलकण्ठ नगरपालिकाको आगामि आर्थिक वर्ष ०७४/७५ को बजेट विनियोजन र श्रोतको ब्यवस्था सम्बन्धी विवरण प्रस्तुत गर्दछु ।
१. यस सभा समक्ष प्रस्तुत नीति तथा कार्यक्रम बजेटका उद्धेश्य र प्राथमिकता अनुसार कार्यक्रम कार्यान्वयनका लागि आगामि आर्थिक वर्ष ०७४/७५ मा कूल ६९ करोड १४ लाख २८ हजार ५ सय को वार्षिक बजेट विनियोजन गरेको छु । सो रकम मध्ये चालु तर्फ ४४ करोड ३३ लाख १६ हजार ४ सय अर्थात ६४.१२ प्रतिशत र पुजीगत तर्फ २४ करोड ८१ लाख १२ हजार १ सय अर्थात ३५.८८ प्रतिशत बजेट विनियोजन गरेको छु ।
२. आर्थिक वर्ष २०७४।७५ को लागि नगरपालिकाको आन्तरिक आय कूल ३ करोड ७० हजा ५ सय रुपैयां हुने अनुमान गरेको छु । त्यस्तै नगरक्ष्ँेत्रमा हुने विकास आयोजनामा नगद जनसहभागिता तर्फ २० रुपैया लाखं जुट्ने अनुमान गरेको छु । जनसहभागिता सहित नगरपालिकाको आन्तरिक आय कूल ३ करोड २० लाख ७० हजार ५ सय हुने अनुमान गरेको छु । वित्तिय समानीकरण अनुदान २९ करोड ८९ लाख ७९ हजार, ससर्त अनुदान २१ करोड ४८ लाख ७९ हजार रुपैया र सामाजिक सुरक्षा ससर्त अनुदान तर्फ १४ करोड ५५ लाख गरि नेपाल सरकारबाट प्राप्त हुने सुनिश्चित अनुदान रु ६५ करोड ९३ लाख ५८ हजार गरि नगरपालिकाको कूल आय ६९ करोड १४ लाख २८ हजार ५ सय हुने अनुमान गरेको छु ।
३. उल्लिखित कुल बजेटमा नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान र सामाजिक सुरक्षा कार्यक्रममा समावेश भएको ३६ करोड ३ लाख ७९ हजार रकम चालु खर्चतर्फ परेको हुदा कुल बजेटमा चालु बजेटको अंश बढी देखिन आएको छ ।
४. नेपाल सरकारबाट सशर्त अनुदान २१ करोड ४८ लाख ७९ हजार मध्येबाट १६ करोड ४९ लाख रकम शिक्षा क्षेत्र (आधारभुत तह, माध्यामिक तह र विद्यालय क्षेत्र विकास कार्यक्रम) अन्तरगत अधिकांश रकमहरु विद्यालय शिक्षकहरुको पारिश्रमिक र चालु प्रकृतिका कार्यक्रमहरु समावेश भएका छन् । यसैगरी नीलकण्ठ नगरपालिका क्षेत्रको स्वास्थ्य सेवा तथा एकीकृत स्वास्थ क्ष्ँेत्र विकास कार्यक्रममा ४ करोड २७ लाख ४६ हजार रुपैयां, जिल्ला आर्युवेद कार्यालय अन्तरगत संचालित कार्यक्रमको लागि ६३ लाख १५ हजार रुपैयां, पशु सेवा कार्यालयतर्फ ५ लाख ९१ हजार रुपैयां र कृषि कार्यालयतर्फ ३ लाख २० हजार विनियोजन गरेको छु ।
५.सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत प्राप्त हुने रकम रु. १४ करोड ५५ लाख बजेट सामाजिक सुरक्षा कार्यक्रम लाभान्वित हुने लाभग्राहीलाई बैंक खाता मार्फत वितरण गरिने गरी विनियोजन गरेकोछु ।
६. चालु तर्फको सशर्त अनुदान र सामाजिक सुरक्षा बजेट सम्बन्धित क्षेत्रमा खर्च हुने हुदा कुल चालु बजेटमा सो रकम घटाई यस नगरपालिकालाई प्राप्त वित्तिय समानिकरण अनुदान, नगरपालिकाको आन्तरीक श्रोत र नगद लागत सहभागिता समेत गरी कुल बजेट रु. ३३ करोड १० लाख ४९ हजार ५ सय मध्ये खुद नगरपालिकाको लागि आवश्यक पर्ने चालु खर्च ८ करोड २९ लाख ३७ हजार ४ सय अर्थात २५.०५ प्रतिशत र पुजिगत तर्फ २४ करोड ८१ लाख १२ हजार १ सय अर्थात ७४.९५ प्रतिशत बजेट विनियोजित गरेको छु ।
७. पुजिगत बजेटबाट वडा समितिहरुले वडा भेला मार्फत छनौट गरी पठाएका २८४ वटा योजना सम्पन्न गर्न ७ करोड रुपैयां बजेट विनियोजन गरेको छु । यसै गरी दातृनिकाय र अन्य संघ संस्था संग विकास कार्यमा सहकार्य गर्ने गरी कार्यक्रम संचालन गर्न १ करोड रुपैयाँ समपुरक कोष विनियोजन गरेको छु ।
८. नेपालको संविधानको अनुसूचि ८ मा उल्लेखित स्थानीय तहका अधिकार क्षेत्र भित्र परेका साविकका केन्द्रिय सरकारका स्थानीय कार्यालयहरु मार्फत हुने विकास निर्माण कार्यका लागि वित्तीय समानिकरण अनुदान मा उल्लेखित रकम नघट्ने गरि एकमुष्ट रुपमा ५ करोड ९६ लाख ७४ हजार बजेट विनियोजन गरेको छु ।
९. वडा स्तरबाट वडा समितिले नगरबासीहरुको सहभागितामा छनौट गरी सिफारिस भई आएका र नगर कार्यपालिकाले आवश्यक देखेका अन्य विकास निर्माण कार्यका लागि ९ करोड ३४ लाख ३८ हजार रुपैयां बजेट विनियोजन गरेकोछु ।
१० लक्षित बर्ग सहयोग तथा ससक्तिकरण कार्यक्रम अन्तर्गत महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, जनजाति– आदिवासी, अल्पसंंख्यक, सिमान्तकृत तथा विभिन्न धर्म सम्प्रदाय र साहित्य,कला संस्कृतिको प्रवर्धन कार्यक्रम अन्तर्गत रु.६४ लाख रुपैयां रकम विनियोजन गरेको छु ।
११. एक वडा एक खेल मैदान कार्यक्रमका लागि वडा बाट सिफारिश भै आएका आयोजनाका अतिरिक्त खेलकुद प्रतियोगिता तथा अन्य खेलकुद पुर्वाधार विकासका लागि ४८ लाख रुपैयां विनियोजन गरेको छु ।
१३.नगरपालिकाको आन्तरिक आय बृद्धि तथा आय आर्जन हुने परियोजनाहरुमा नगरबासीहरु संगको सहकार्यमा लगानी प्रवर्धन गर्न नगर लगानी कोष स्थापना गरि छुट्टै ऐन निर्माण गरि कार्यक्रम सञ्चालन गर्न एकमुष्ठ ९६ लाख रुपैयांको लगानी कोष रकम विनियोजन गरेको छु ।
१४. नगरको विकास कार्यमा निजी क्षेत्र, उपभोक्ता समिति र विभिन्न गैह्रसरकारी निकायहरुले साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरि रु. ९६ लाख रुपैयां विनियोजन गरेको छु ।
१५. नगरपालिकाको आन्तरिक सूचना प्रणाली ब्यवस्थापन, श्रब्यदृष्य कार्यक्रम निर्माण, अनलाईन व्यवस्थापन तथा सञ्चार सस्था सवलिकरणका लागि रु. ३२ लाख रुपैयां विनियोजन गरेको छु ।
१६. आन्तरिक पर्यटन प्रवर्धन तथा नमुना आयोजना मार्फत नगरको आकर्षण थप्ने आयोजना सञ्चालनका लागि ९६ लाख रुपैयां विनियोजन गरेको छु ।
१७. नेपाल सरकारले हाल अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्र्तरगत समानिकरण र सशर्त अनुदानमा मात्र रकम हस्तान्तरण गरको छ । समपुरक अनुदान, विशेष अनुदान र प्रदेश सरकारको अनुदान प्राप्त नभएकोले आगामी दिनमा ति अनुदान समेत प्राप्त हुने अपेक्षा गरिएको हुदा विकास निर्माण कार्यमा प्रर्याप्त बजेट परिचालन हुन सक्ने विश्वास लिएको छु ।
१८. साविकमा सम्पूर्ण वडाका कार्यहरु सिमित जनशक्तिको भरमा नगरपालिकाको कार्यालय रहेको केन्द्र धादिङवेसीबाट संचालन भई आएकोमा स्थानीय तहको निर्वाचन पश्चात सम्बन्धीत जनप्रतिनिधीहरुले वडाबाटै कार्य जिम्मेवारी समाली नागरिकलाई सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ तर वडा कार्यालयमा बसी सेवा प्रदान गर्न कार्यालयहरुमा प्रर्याप्त भौतिक पूर्वाधार नभएको र वडा कार्यालय भएकोमा पनि प्रर्याप्त पूर्वाधार नभएको हुदा वडा कार्यालय सुढृढीकरणको लागि बजेट विनियोजन गरेको छु । वडा कार्यालयको भौतिक पूर्वाधार विकासलाई श्रोत साधन जुटाई क्रमश सुढृढीकरण गरिने छ ।
१९. अगामी वर्षहरुमा नगरवासीको विकास कार्यमा उच्च सहभागिता बढाउदै लैजाने नीति लिएको हुदा आगामी वर्ष २० लाख बराबरको नगद सहभागिता हुने अपेक्षा गरी बजेटमा समावेश गरेको छु ।
२०.भुकम्प, बाढी पहिरो, आगलागी जस्ता प्राकृतिक विपत्तिमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालनको लागि .१६ लाख रुपैयांको विपद कोषको ब्यवस्था गरेको छु । नगरपालिकामा विपद क्षेत्रमा काम गर्ने अन्य सरकारी गैह्रसरकारी संस्थाहरु संगको सहकार्यमा उक्त कोषमा रकम बढाउंदै नियमानुसार कोषको रकम खर्च गर्न सकिने ब्यवस्था गरेको छु ।
२१.सूचना तथा संचार प्रविधिको पूर्वाधार विकास तथा ब्यवस्थापनाका लागि सम्बन्धित स्थानीय तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु संग समेतको सहकार्यमा आवश्यक कार्यक्रम सञ्चालन गर्न ४८ लाख रुपैयां बिनियोजन गरेको छु ।
२२. नीलकण्ठ नगरपालिकाको आर्थिक बर्ष २०७४।७५ बजेट संग सम्बन्धित विवरण अनुसूचिहरुमा पेश गरेको छु ।
सभाध्यक्ष ज्यू !
८) प्रस्तुत वजेट तर्जुमामा सहयोग एवं मार्गदर्शन गर्नुहुने सम्पूर्ण विशिष्ट ब्यक्तिहरु, नगर प्रमुख ज्यू, नगर कार्यपालिकाका सदस्य ज्यूहरु, कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारी समूह र अन्य सहयोगी मित्रहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नगरक्षेत्रमा निहित व्यापक आवश्यकतालाई एक बर्षको सिमित बजेटले सम्बोधन गर्दा धेरै क्षेत्र विषय र आवश्यकताहरु अझै प्राथमिकतामा पार्न बांकि देखिएका छन् । साधन श्रोतको खोजि र बृद्धि गरि आगामी बर्षको बजेटमा अझै व्यवस्थित योजना र प्राथमिकता छनौट प्रणाली अवलम्बन गरि बढि भन्दा बढि आवश्यकताहरुको सम्बोधन गर्ने प्रयास जारी रहनेछ । यो बजेट कार्यान्वयनमा सम्बन्धित सरोकारवाला सबैको अमूल्य सहयोग रहनेछ भन्ने विश्वास गरेको छु । धन्यवाद ।