दुबई, असार २४ । नेपाली समाज युएईको ७ जुलाईमा दुवाईको एक होटलमा सुरु भएको १३ औ अधिवेशन अध्यक्षका प्रत्यासी दुई धादिङेहरुको विवादका कारण स्थगित भएको छ ।
धादिङ समाज युएईका संरक्षक चन्द्रप्रसाद सापकोटा र समाजकै अध्यक्ष भीम अधिकारी बीच नेपाली समाजको अध्यक्षमा उम्मेदवारी दिएको बेला देखि नै देखिएको विवाद अधिवेशन हलमा उत्कर्षमा पुगेको हो ।
धादिङ समाज युएईका सल्लाहकार भुवन गुरुङ, नानुकाजी अर्याल, नरबहादुर घले, धनबहादुर पाठक लगायतले उक्त विवाद समाधानको लागि धेरै पहिले देखि नै पहल गर्दै आए पनि वैठक बस्ने वातावरणको निर्माण हुनै नसक्दा अधिवेसनमा धादिङ समाजको मात्र नभएर सिंगो नेपालीहरुको शिर निहुरिएको प्रतिक्रिया दिएका छन् ।
नेपाली समाजको निर्वाचन आचार संहितामा कुनै पनि राजनैतिक दलको जिम्मेवार पदमा रहेको व्यक्ति नेपाली समाजको लागी उम्मेदवार बन्न नपाउने व्यवस्था हुदा हुदै पनि अध्यक्षको प्रत्यासी चन्द्रप्रसाद सापकोटाले बल जफती अध्यक्ष बन्नको लागि हंगामा खडा गरेपछि निर्वाचन कार्यक्रम स्थगित भएको हो । अधिवेशन स्थगित भएपनि जनजाति महासंघ लगायत विभिन्न सामाजिक संघ-संस्थाहरुले आफ्नो समर्थन फिर्ता लिएको बताएका छन् ।
नेपाली समाजको दुई कार्यकाल अध्यक्ष भइसकेका अध्यक्षका प्रत्यासी नीलकन्ठ-१४ धादिङका बासिन्दा चन्द्रप्रसाद सापकोटा नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य तथा धादिङ समाज युएईका संरक्षक हुन् भने गंगाजमुना- ५ धादिङका बासिन्दा अर्का प्रत्यासी भीम अधिकारी काँग्रेस समर्थित संगठन नेपाली जनसम्पर्क समितिमा आवद्ध हुनुका साथै धादिङ समाज युएईका निवर्तमान अध्यक्ष पनि हुन् । अधिकारीले नेपाली समाजमा उम्मेदवार बन्नकै लागि धादिङ समाजको अध्यक्ष पदबाट राजीनामा दिए पनि सापकोटाले कुनै पनि पदबाट राजीनामा नदिई उम्मेदवारी दर्ता गराएका थिए ।
विभिन्न संघ-संस्थाका प्रतिनिधीहरुले अरबी समेत परिचालन गरेर गरिएको कार्यक्रम विथोलिनु आफैमा लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् ।