धादिङबेसी असार १७ । बद्री अर्याल नेपाली काँग्रेस सिद्धलेक गाउँपालिकामा एमालेका प्रेमनाथ सिलवालबाट गाउँपालिका अध्यक्षमा पराजित उम्मेदवार हुन् । सिद्धलेक गाउँपालिका वर्डा नम्बर १ घर भएका अर्याल नेपाली काँग्रेस सिद्धलेकका प्रखर युवा पुस्ताका नेताका रुपमा चिनिन्छन् ।
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सिद्धलेक गाउँपालिकाको प्रमुखमा सिलवालले ५ हजार ६ सय ७ मत ल्याएर निर्वाचित भएका थिए भने पराजित अर्यालले ३ हजार ६ सय ८२ मत प्राप्त गरेका थिए ।
नेपाली काँग्रेसका प्रभावशाली नेता रामशरण महतका विश्वस प्रात्रका रुपमा चिनिने गरेका अर्यालले मात्र हारेनन् सिद्धालेक वडा नं ५ मा नेपाली काँग्रेसका प्रकाश घले भन्दा बाहेक अरु सबै नेकपा एमालेले कब्जा जमाउन सफल भएको थियो ।
अर्यालले केहि दिन आफ्नो सामाजिक संजाल मार्फत १३ बुदामा काँग्रेस यस कारण दोस्रो हुँदै छ काँग्रेस भनेर आफ्नो विचार पोखेका छन् । उनले आफ्नो फेसबुक मार्फत भनेका छन्- पालिका घोषणा भएपछि क्षेत्रीय समिति गाउँ समिति निस्कृय छ । चुनावमा कुनैपनि पालिकामा पार्टीको गतिविधि भएनन् जति भयो उम्मेदवारको व्यक्तिगत खटाइमात्र भयो, प्रभावशाली नेताका अनेकौं गुट उपगुटहरु छन् । घात र अन्तरघात त कांग्रेसको जन्मसिद्ध सस्कार नै भएको छ ।
फेसबुक स्टाटस जस्ताको तस्तै
यसकारण दोस्रो हुदैछ कंग्रेस….
१. नेतृत्व अत्यन्तै निकम्मा छ, गुटबन्दी मै रमाउँछन् । विचार र सिद्धान्तमा पदाधिकारीहरु कमजोर छन । अध्ययन चिन्तन मनन गर्ने नेता छैनन स्वार्थ परस्त छन् । पार्टीमा अभिलेख प्रणाली छदैछैन ।
२. पालिका घोषणा भएपछि क्षेत्रीय समिति गाउँ समिति निस्कृय छ। पालिका समिति, काम चलाउ छ चुनावमा पटक्कै क्रियाशील छैन ।
३. चुनावमा कुनैपनि पालिकामा पार्टीको गतिविधि भएनन् जति भयो उम्मेदवारको व्यक्तिगत खटाइमात्र भयो कतिपय नेता भनाउँदा त पार्टी हराएर भाट मात्र जिताउने आँट गरेर हिंडेछन् ।
४. प्रभावशाली नेताका अनेकौं गुट उपगुटहरु छन । पार्टी अनुशासन शुन्य छ । कोहि रामराजा प्रसाद सिंह भन्दा बढी गणतन्त्रबादी छन । कोहि कमल थापा भन्दा बढी राजाबादी ।
५. गाउँ र केन्द्र, भातृ र मतृ संगठन बीचमा समन्वय छैन, मधेस नीति देखि बिदेश नीति सम्म के हुनुपर्छ ? कसैलाई मतलब छैन ।
६. सभापति र अन्य कार्यकर्ता नेताहरूले प्रतिपक्षीले झुटो आरोप लगाउदा समेत प्रतिवाद गर्ने क्षमता राख्दैनन । बरु संगै पार्टी र नेताको बिरोध गरेर गौरव गर्छन् ।
७. प्रायःजसो युवा नेताहरू झन थकित छन र कुन नेताको घरमा जादा र कसलाई चाकरी गर्दा भबिष्य सुरक्षीत हुन्छ भन्ने मात्र ध्यान छ ।
८. अझै कार्य समितिले पुर्णता पाएको छैन । ४२ वटा बिभागमा एउटा पनि गठन भएको नै छैन । भातृ संघसंगठनका कार्यकर्ता खिया लागेको हतियार जस्ता छन ।
९. पार्टीको राष्ट्रिय तहका नीर्णयहरु जनविरोधि छन् निर्णय संस्थागत छैन निर्णयमा भाविपुस्ता कार्यकर्ताको भावना समेटिएको देखिंदैन । रायसुझाव दिने बुद्धिजीवी बिकाउ र लोभलालच मै ब्यस्त छन । कसैले कसैलाई टेर्दैनन ।
१०. केन्द्र देखि जिल्ला र क्षेत्रका नेताहरूले टिकट वितरण मै पैसा खाने र गुट बनाउने गरेको कुरा कार्यकर्ताले बताउछन ।
११. घात र अन्तरघात त कांग्रेसको जन्मसिद्ध सस्कार नै भएको छ । कैयौ जिल्लामा त केन्द्रिय नेता र साम्सद भएको ब्यक्ति नै पार्टीको उम्मेदवार हराउन दिलोज्यान लागेका छन ।
१२. टिकट पाएकोलाई घर घडेरी नै मासिने गरेर खर्च गराउन पार्टी कै नेता र कार्यकर्ता लाग्दछन । चन्दा, सहयोग र लेबि उठाउने र दिने चलन बिरलो नै छैन ।
१३. नेताले आर्थिक सहयोग त के एक कल उम्मेदवारलाई फोन समेत गर्दैनन । जति चुनाव नजिकै आउँछ उति उम्मेदवार एक्लै हुन्छन ।
बि पि, गणेशमान, सुबर्ण, किसुन जी, गिरिजा बाबु, महेन्द्र नारायण, शैलजा, भिम बहादुर लगायतको नाम,योगदान, सिद्धान्त र पुरानो इतिहासले कंग्रेस दोश्रो हुन सकेको छ ।