धादिङ त्रिपुरासुन्दरीका शान्ता भण्डारीको मृत्यु प्रकरणमा भएको विवाद समाधान

Avatar photo
Dhadingpost
सोमवार, असार ५, २०७४

पोखरा, असार ५-मणिपाल शिक्षण अस्पताल पोखरामा सुत्केरी गराउने क्रममा गत जेठ २३ गते मृत्यु भएकी धादिङ त्रिपुरासुन्दरी गाउपालिका वडा नं. ६ का शान्त भण्डारीको मृत्यु पछि भएको विवाद आइतवार टुङगिएको छ । भण्डारी र उनको शिशु दुवैको मृत्यु भएको थियो ।

आइतबार घटनाका पीडित पक्ष, जिल्ला प्रशासन कार्यालय र अस्पताल प्रशासनसंग आइतबार भएको वार्तामा आंशिक सहमति भएपछि तनाव टुङ्गिएको हो । तर पीडित पक्षले आन्दोलन स्थगन भने गरेका छैनन् ।

पीडित पक्षले छानविन समितिले बुझाएको रिपोर्टमा उल्लेख भएका कुराहरु झुट रहेको भन्दै अस्वीकार गरेपछि आइतबारको पहिलो चरणको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि जिल्ला प्रशासन, अस्पताल प्रशासन र क्षतिपूर्ति समिति बीच वार्ता भएको थियो । त्यसलगत्तै क्षतिपूर्ति समिति, जिल्ला प्रशासन र पीडित पक्षबीच आइतबार नै दोस्रो चरणको वार्ता भएको थियो । वार्तामा छानविन समितिको रिपोर्टलाई पुनः अध्ययन गर्र्न र सत्यतथ्य पत्ता लगाउनका लागि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा। अर्जुन आचार्यलाई दिने र उनले केही दिनमा सत्यतथ्य रिपोर्ट बुझाउने सहमति भएको छ ।

यसैगरी वार्तामा भएको सहमतिहरुमा सुत्केरी गराउने क्रममा मृत्यु भएकी शान्ता भण्डारीका श्रीमान राम भण्डारी र सात वर्षकी छोरीको आजीवन स्वास्थ्य उपचार मणिपाल शिक्षण शिक्षण अस्पतालले गर्ने, शान्ताको छोरीको शिक्षा तथा लालनपालनका लागि जिल्ला प्रशासनको समन्वयमा उत्कृष्ट बालगृहमा राख्ने, अस्पतालले सुत्केरी गराउनेक्रममा भएको खर्च फिर्ता गर्नुका साथै काजकीरिया खर्च स्वरुप १ लाख रुपैयाँ उपलव्ध गराउने सहमति वार्तामा भएको छ । सहमतिपछि पीडित पक्षले सोमबार शान्ता भण्डारी र बच्चाको शव बुझेर दाहसंस्कार गर्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सिनियर गाइनोक्लोजिष्ट डा।डेला सिं शर्मा संयोजक रहेको छानविन टोलीले घटनाको रिपोर्ट बुझाएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको थियो ।