धादिङ त्रिपुरासुन्दरीका शान्ता भण्डारीको मृत्यु प्रकरणमा कुरा अझै मिलेन

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २५, २०७४

पोखरा,जेठ २५- पोखराको मणिपाल शिक्षण अस्पतालमा सुत्केरी गराउने क्रममा मृत्यु भएकी धादिङ त्रिपुरासुन्दरी वडा नं. ६ कि शान्ता भण्डारीको मृत्यु प्रकरण यो समाचार तयार पारुञ्जेलसम्म मिल्न सकेको छैन । सुत्केरी गराउने क्रममा गत मंगलवार  नै भण्डारी र उनको छोरा दुवैको ज्यान गएको थियो । उपचारमा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा धर्ना दिइरहेका छन ।आज पनि मृतकका आफन्त लगायत धादिङबाट पोखरा आई बसोवास गर्ने विभिन्न गाविसका नागरिकहरु मणिपाल शिक्षण अस्पतालमा पुगि विरोधमा सहभागि भएका छन । अस्पतालमा हुन सक्ने सम्भावित घटनालाई लिएर अहिले अस्पताल प्रवेशद्धारमा ताला लगाइएको छ । ताला लागेपछि अस्पतालमा आवात जावत समेत बन्द भएको छ भने व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
घटनापछि पीडितपक्ष थप आक्रोशित हुदै घटना लुकाउन खोजिएको आरोप लगाएका छन ।
१९ वर्षअघि विवाह गरेकी शान्ताले अहिले तेस्रो सन्तानलाई जन्म दिदै थिए । भण्डारी दम्पत्ती नयाँबजार, पोखरामा डेरा लिई बस्दै आएका थिए । शान्ताका आफ्न्त चन्द्रीका थापाले उपचारमा चिकित्सकले लापरबाही गरेको दाबी गरिन् । उनले सुत्केरी गराउने क्रममा पहिले शिशुको मृत्यु भएको भनिएको छ, त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको घोषणा गरियो ।

उनका अनुसार शिशुको मंगलवार साढे २ बजे र आमाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको घोषणा गरिएको हो । मृतकका आफन्तका अनुसार शान्ता मंगलबार दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । नर्मल डेलिभरी भएकी उनलाई चिकित्सकले खतरा भएको वा स्वास्थ्यमा समस्या आएको बारेमा केही जानकारी नदिई एकैपटक मृत घोषणा गरेको आफन्तको आरोप छ ।

उनका आफन्तले अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सक माथी कारवाहिको माग गरेका छन् । तर अस्पताल प्रशासनले भने सुत्केरी र नवजात शिशुको मृत्युमा चिकित्सक दोषी नरहेको दाबी गरेको छ । अस्पताल प्रशासनले नवजात शिशु मृत अवस्थामा जन्मेको र सुत्केरी शान्ताको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताएको छ । उनका आफन्तले कानुनी उपचारमा जाने तयारी समेत गरेका छन् ।