धादिङ,जेठ २५- धादिङको रुबीभ्याली गाउँपालिकामा राप्रपाले जित्यो । पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये कमल थापा नेतृत्वको राप्रपाले जितेको एकमात्रै स्थानीय तह यही रुबीभ्याली गाउँपालिका हो ।
राप्रपालाई ‘नील’ हुनबाट जोगाउने रुबीभ्याली गाउँपालिकामा धर्मबारे अनौठो संयोग जुरेको छ । यो स्थानीय तहमा जित हातपार्ने पार्टी राप्रपा हिन्दुराष्ट्रको एजेण्डा बोकेर हिँडेको छ । तर, राप्रपालाई शुन्य हुनबाट जोगाउँदै जित दिलाउने जनप्रतिनिधि चाहिँ हिन्दु होइनन् ।
रुबीभ्याली गाउँपालिकाको अध्यक्षमा राप्रपाबाट निर्वाचित चेरुङ तामाङ बुद्ध धर्मावलम्बी हुन् । राप्रपाबाटै उपाध्यक्षमा निर्वाचित बिना लामा क्रिश्चियन धर्मावलम्बी हुन् ।
हाल गाउँपालिका अध्यक्षमा निर्वाचित चेरुङ तामाङका पिता पनि पञ्चायतकालदेखि नै जनप्रतिनिधि थिए । अहिले छोरा पनि जनप्रतिनिधि बन्न सफल हुनु अर्को रोचक संयोग हो ।
यो स्थानीय तह राप्रपाका नेता बुद्धिमान तामाङको प्रभाव क्षेत्रहो । राप्रपा र राप्रपा नेपालको एकतापछि यहाँ राप्रपाको झनै प्रभाव बढेको छ ।
हिन्दु पार्टीमा क्रिश्चियन बिजेताः कसरी जुर्यो संयोग ?
पछिल्लो समय रुबीभ्यालीमा क्रिश्चियन धर्मावलम्बीहरुको संख्या एकाएक बढेको छ ।जब स्थानीय तहको चुनाव आयो, विपक्षी दलहरुले प्रचार गरे कि राप्रपाले जित्यो भने क्रिश्चियनहरुलाई गाउँबाट लखेट्छन् ।
विपक्षीको यो भ्रमको कसरी सामना गर्ने भनेर राप्रपाका स्थानीय नेताहरुले छलफल गरे । त्यसपछि राप्रपाले एउटछा उपाय निकाल्यो- पार्टीकै कार्यकर्ता रहेकी क्रिश्चियन धर्मावलम्बी बिना लामालाई नै उपाध्यक्षको उम्मेदवार बनाइदिने । अन्ततः यो ‘ट्रिक’ले काम गर्यो । र, राप्रपाले गाउँपालिका प्रमुख र उपप्रमुख दुबै जित्यो ।
अध्यक्ष र उपाध्यक्षको एउटै स्वरः धर्मका नाममा विभेद हुँदैन
निर्वाचित अध्यक्ष र उपाध्यक्ष दुबै अब धर्मका नाममा कुनै विभेद नहुने बताउँछन् । ‘चुनावका क्रममा अरुले गलत हल्ला चलाए पनि होलान् तर, हामी धर्मका नाममा कुनै दबाव दिँदैनौं,’ गाउँपालिका अध्यक्ष तामाङले भने ।
उपाध्यक्ष बिना लामा पनि आफू क्रिश्चियन धर्मावलम्बी भएको सहर्ष स्वीकार गरिन् । उनले भनिन्, ‘म राप्रपा समर्थक हुँ तर, हिन्दु नै हुनुपर्छ भन्ने छैन ।’
सबै क्रिश्चियनलाई राप्रपाले हिन्दु बनाउँछ भनेर भ्रम फैलाइएकाले पनि आफू जनप्रतिनिधि भएर आएको बिनाले बताइन् ।उनले भनिन्, ‘अब म क्रिश्चियन भएर जितेको वा राप्रपा भएर जितेको भन्दिनँ, सबैका लागि काम गर्छु ।’धादिङको रुबीभ्याली साविकका लापा, सेर्तुङ र तिप्लिङ गाविस मिलेर बनेको हो । यसको जनसंख्या ९ हजार ५ सय ६५ छ । यो गाउँपालिकामा ६ वटामात्रै वडाहरु रहेका छन् ।
जिल्लाको उत्तरी विकट गाउँपालिकाका रुपमा रहेको रुवीभ्यालीको सीमाना चीनसम्म जोडिएको छ । पूर्वमा रसुवा र पश्चिममा गोरखा जिल्लाले यो गाउँपालिकालाई छोएको छ ।एउटा उच्चमावि र ३ वटा स्वास्थ्य संस्था रहेको यो गाउँपालिका विकासमा निकै पछि परेको छ ।अनलाइनखवरबाट साभार