पोखरा, जेठ २४- मणिपाल शिक्षण अस्पताल पोखरामा सुत्केरी गराउने क्रममा धादिङ त्रिपुरासुन्दरीका आमा र शिशु दुवैको मृत्यु भएको
छ । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तजनले अहिले अस्पतालमा धर्ना दिइरहेका छन् ।
सुत्केरी गराउनका लागि हिडेरै मंगलबार अस्पताल पुग्नु भएकी धादिङ त्रिपुरासुन्दरी की ३५ वर्षीया शान्ता भण्डारी र उनको छोराको गएराति मृत्यु भएको हो ।९ वर्षअघि विवाह गर्नुभएकी शान्ताको पहिलो सन्तान अहिले ४ वर्षको छ । उहाँका श्रीमान कन्स्ट्रक्सनमा मजदुरी गर्दै आउनुभएका छन । भण्डारी दम्पती पोखराको नयाँबजारमा डेरा लिई बस्दै आएका थिए ।
मृतक शान्ताका जेठाजु नाताका भीम भण्डारीले उपचारमा चिकित्सकले लापरबाही गरेको दाबी गरेका छन् । उहाँले भन्नुभयो, सुत्केरी गराउने क्रममा पहिले शिशुको मृत्यु भएको भनिएको छ, त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको घोषणा गरियो । उहाँका अनुसार शिशुको गएराति साढे २ बजे र आमाको बिहान साढे ५ बजे मृत्यु भएको घोषणा गरिएको हो । यद्यपी मृतक भनिएको शिशु अहिलेसम्मआफन्तलाईदेखाइएको छैनन ।मृतकका आफन्तले घटनाको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग गरेका छन् ।
सहमति जुटाउन अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भइरहेको छ ।