धादिङ जेष्ठ ३ । धादिङको नीलकण्ठ नगरपालिका अन्तर्गत वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका रामकुमार श्रेष्ठ विजयी भएका छन् । साविकको खाल्टे गाविसको वडा नम्बर २, ३, ४, ५ र ६ मा पर्ने नीलकण्ठ नगरपालिका ५ मा काँग्रेसलाई हराउँदै माओवादी केन्द्रका श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल २ हजार ८ सय १४ मतदाता रहेको नीलकण्ठ ५ मा जम्मा २ हजार १ सय ८५ मत खसेको थियो । जसमध्ये माओवादी केन्द्रका उम्मेदवार रामकुमार श्रेष्ठ ७ सय ३३ मत ल्याई विजयी भएका हुन् । उनलाई नेपाली काँग्रेसका तर्फबाट हष्तबहादुर गुरुङ पछ्याएका थिए । निकटतम प्रतिद्वन्दी गुरुङले ६ सय ९४ मत ल्याएका छन् जुन श्रेष्ठको भन्दा ३९ मत कम हो ।
वडा अध्यक्षमै प्रत्याशी रहेका नेकपा एमालेका बाबुलाल श्रेष्ठले भने जम्मा ५ सय ८४ मत ल्याएका छन् । नीलकण्ठ ५ मा नयाँ शक्तिले पनि आफ्नो उपस्थिति देखाएको थियो । नयाँ शक्तिका राजन प्रसाद ढुङ्गानाले ६१ मत प्राप्त गरेका छन् ।
नीलकण्ठ ५ को वडा सदस्यहरुमा दलित महिलाको तर्फबाट ७ सय १२ मत ल्याएर गंगा श्रीमल विजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा ७ सय १९ मत ल्याएर सरिता श्रेष्ठ विजयी हुनुभएको छ । अन्य सदस्यहरुमा ७ सय १६ मत ल्याएर नवराज ढुङ्गाना पनि विजयी भएका छन् । यी सबै माओवादी केन्द्रका सदस्यहरु हुन् । वडाको अर्को सदस्यमा भने नेपाली काँग्रेसका तर्फबाट सीताराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६ सय ७७ मत ल्याएर विजयी भएका हुन् ।
साविकको खाल्टे गाविस द्वन्द्वकालीन समयमा तत्कालीन माओवादीको आधार इलाका थियो । साविकको खाल्टेमै पर्ने नीलकण्ठ १ मा पनि माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।