हरेक घरमा Access पुग्ने गरी Wi Fi Tower निर्माण-विश्वकर्मा

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०७४

धादिङबेसी सदरमुकामको रुपमा परिचित नीलकण्ठ नगरपालिका ७ का माओवादी केन्द्रका उम्मेदवार दिपक विश्वकर्माले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । माओवादी केन्द्रका नेता विश्वकर्माले यो विगताका गाविसका चुनाव हैन यो स्थानीय तह बलिदानीबाट सृजित उपलब्धी भएको बताउँदै यसको रक्षा र सहि प्रयोग गर्नका लागि माओवादीको जित आवश्यक रहेका बताउनु भएको छ । वडा अध्यक्षका उम्मेदवार दिपक विश्वकर्माले सार्वजनिक गर्नुभएको प्रतिवद्धता जस्ताको तस्तैः नेपालमा भएको ठूलो राजनैतिक परिवर्तन पश्चात संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको नयाँ संविधान लिएर स्थानीय निर्वाचनमा आएका छौं । यस क्षणमा हामी महान १० वर्षे जनयुद्ध, ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान गर्नुहुने महान शहिदहरु, बेपत्ता योद्धाहरु, घाइते अपाङग सबैमा हृदय देखि नै सम्मान र स्मरण गर्दछौं ।

२४० वर्षको निरंकुश एकतन्त्रीय राजतन्त्रको अन्त्य र लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापना गर्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उठाएको महान कदममा तपाई नेपाली दिदी बहिनीहरु, दाजुभाईहरुको जुन अतुलनीय सहयोग, सद्भाव र माया पायौं यो इतिहासमा अविष्मरणीय रहिरहने छ । यदि तपाई दाजुभाई दिदीबहिनीहरुको सहयोग र माया नपाएको भए यो महान र युगान्तकारी परिवर्तन सम्भव थिएन । ६७ वर्षदेखि हाम्रो देशको प्रमुख राजनैतिक मुद्दा बनेको नेपाली जनताले आफ्नो भाग्य र भविष्यको फैसला आफैंले गर्ने, आफ्नो लागि आफैंले संविधान बनाउने संविधान सभाद्धारा संविधान निर्माण गर्ने ठूलो कार्यभार र अभिलासा पुरा भएको छ । जुन जनताद्धारा वा जनताका प्रतिनिधिद्धारा निर्मित संविधान हाम्रो देशमा लागु भएकोे छ ।

नेपाली जनताले सधैं लड्नुपरेको वा बलिदानी गर्नुपर्ने मुख्य मुद्दा भनेको राष्ट्रिय जनतन्त्र र जनजिविका थियो । अब जनताको लागि कहिल्यै लड्न नपर्ने भएको छ । हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र)ले उठाएको महान जनयुद्धको कदमलाई नेपाली जनताले दिएको अभूतपूर्व माया र सहयोगबाट जनतन्त्रको लडाइमा हामी विजयी भएका छौं ।

गणतन्त्र, संघीयता, समानुपातिक–समावेशी प्रतिनिधित्व र धर्म निरपेक्षता कार्यान्वयन गर्दै अब हाम्रो सामु जनजीविका, आर्थिक समृद्धि र स्वाभिमान सहितको राष्ट्रियताको लडाई लड्न बाँकी नै छ । राजनीतिक लडाईको एउटा कोर्ष पुरा गरेर हामी आर्थिक समृद्धि, विकास र स्थानीय प्रतिनिधि सहितको सहभागीतामा संविधान कार्यान्वयनको चरणमा जाने क्रममा छौं । सो कार्यान्वयनको लागि स्थानीय तह १९ वर्षदेखी जनप्रतिनिधी विहिन अवस्थामा रहेको हाम्रो मुलुक आगामी बैशाख ३१ गतेको मताधिकारद्धारा प्रतिनिधी छान्न गइरहेका छौं । यस महान र खुशीको अवसरमा हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र) आफूले उठाएको राजनैतिक एजेण्डालाई पुरा गर्न निर्वाचनमा मत माग्न आफ्नो प्रतिवद्धता सहित पुनः तपाई दिदी बहिनी, दाजुभाई तथा आमाबुबाहरु सामु आएका छौं ।

हाम्रा स्थानीय प्रतिबद्धताहरु:
पशुपालन, दुग्ध उत्पादन र तरकारी ।
हाम्रो आर्थिक सम्वृद्धिको माध्यम सहकारी ।।

१. कृषि: वडाको विकासको मेरुदण्ड कृषि हुनेछ । युवालाई कृषिमा आकर्षण गरी रोजगार बनाइनेछ ।
क. हरेक परिवारमा एउटा गोठ वा तीनवटा टनेल निर्माण गरिनेछ ।
ख. किसानको उत्पादनको उत्पादनस्थलबाट सहकारी मार्फत खरीद गर्ने व्यवस्था मिलाइनेछ ।
ग. सिंचाइका लागि श्रोत उपलब्ध भएका स्थानमा नहर कुलोबाट र श्रोत उपलब्ध नभएका स्थानमा लिफ्टिङ प्रबिधिबाट सिंचाइको प्रबन्ध गराइनेछ ।
घ. कुखुरापालनलाई व्यवसायीकरण गरिनेछ ।
ङ. कृषि अन्वेषण र माटो परीक्षण गरी उपयुक्त प्रकारका तरकारी तथा जडीबुटी खेती गरिनेछ ।
च. पशुपंक्षीलाई आवश्यक पर्ने नियमित भ्याक्सिन स्थानिय रुपमा उपलब्ध गराइनेछ ।
छ. बाँझो जग्गालाई निरुत्साहित गरिनेछ ।
ज. सहुलियत दरको कृषि ऋण व्यवस्था गरिनेछ ।
२. अर्थ: सरकारी, निजी र सहकारी मार्फत आर्थिक विकास गरिनेछ ।
क. सहकारी मार्फत उत्पादन व्यवस्थित गरी Digital Transaction मा कारोबार गरिनेछ ।
ख. प्रत्येक ५०० जनसंख्याको बीचमा एउटा सहकारी सेवा केन्द्र र एउटा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।
ग. आम्दानीको आधारमा बचतलाई प्राथमिकता दिइ जीवनस्तरमा सुधार ल्याउने र सम्बृद्धि हासिल गरिनेछ ।
३. पर्यटन: आम्दानीको अर्को आधार पर्यटन हुनेछ ।
क.वडाको सीमानामा ३ मिटरको सिंढीबाटो निर्माण गरी सिंढीबाटोको वरपर पर्नेगरी पाँचवटा पर्यटकीय सुबिधा सहितको रेष्टुरेन्ट निर्माण गरिनेछ ।
ख. कृषि पर्यटनको नमूना वडाको रुपमा यो वडालाई विकास गरिनेछ ।
ग. शहीद पार्क निर्माण गरिनेछ ।
घ. बेलौते जंघारबाट हिन्दुहरुको पवित्र धार्मिक स्थल भैरबी मन्दिरसम्म ९९९९ सिंढी भएको पैदल बाटो निर्माण गरिनेछ र यस मार्गलाई पर्यटन पदमार्गको रुपमा विकास गरिनेछ ।
ङ. सिक्किमको वनझाँक्री फल्स जस्तै पर्यटकीय क्षेत्र बहरखोलामा निर्माण गरिनेछ ।
च. सातमुले पिकनिक तथा पर्यटकीय स्थल, तारुखर्कमा भ्यू टावर र युवा पार्क निर्माण गरिनेछ ।
४. शिक्षा:
क. प्राविधिक शिक्षा हाम्रो लक्ष राख्दै स्थापित विद्यालयहरुलाई व्यवस्थित गरिनेछ ।
ख. एकजना स्वास्थ्य सहायकको नेतृत्वमा विद्यालय स्वास्थ्य हेर्ने टिम बनाइ हरेक विद्यालयमा महिनामा कम्तिमा एक पटक पर्ने गरी स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइनेछ ।
ग. कर्णेश्वर मा.वि.मा सञ्चालित VJTA को कक्षालाई I.Sc.Ag मा स्तरोन्नती गरिनेछ ।
घ.नीजि क्षेत्रको सहभागितामा VJTA को कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
ङ. प्राविधिक शिक्षाको अन्य तालिम सञ्चालन गरिनेछ ।
च. कक्षा १ देखि नै कम्प्युटर शिक्षाको व्यवस्था गरिनेछ । एउटा विद्यालयमा कम्तिमा १० वटा कम्प्युटर भएको ल्याव तयार गरी सञ्चालन गरिनेछ ।
छ. सूचना प्रविधि मैत्री, युवा तथा बाल मैत्री पुस्तकालय बनाइनेछ ।
ज. सुनौलो भैरबी मा.वि.मा विज्ञान तथा सूचना प्रविधिको कलेज स्थापना गरिनेछ ।
५. खानेपानी:
क. हरेक घरमा मिटर सहितको खानेपानीको व्यवस्था गरिनेछ ।
६. सडक:
क. मुख्य सडकहरु कालोपत्रे गरिनेछ ।, ख. सहायक सडकहरु ग्रावेल गरिनेछ ।
ग. ग्रामिण सडकहरु व्यवस्थित गरिनेछ । कम्तिमा एम्बुलेन्स र दमकल गुड्न सक्ने सडक हरेक वस्ती नजिक पु¥याइनेछ ।
७. सूचना र सञ्चार:
क. हरेक बाक्लो बस्तीमा ल्याण्डलाइन टेलिफोनको व्यवस्था गरिनेछ ।
ख. हरेक घरमा Access पुग्ने गरी Wi Fi Tower निर्माण गरिनेछ ।
ग. मोबाइल सेवालाई गुणस्तरयुक्त बनाइनेछ ।
८. खेल मैदान:
क. तारुखर्क–पीपलछापमा एउटा, गोर्खालीगाउँ–हिटी–निवुवास्वाँरामा एउटा, डम्बरडाँडा–सुकौराबेसीमा एउटा, र तल्लोबेसीमा एउटा व्यवस्थित खेल मैदान निर्माण गरिनेछ ।
ख. उज्यालोटोलमा निर्माण शुरु गरिएको खेल मैदानलाई फुटसालमा स्तरोन्नती गरिनेछ ।
९. स्वास्थ्य:
क. वडामा ५ शैयाको अस्पताल सञ्चालन गरिनेछ ।
ख. एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ ।
१०. वन पैदावार:
क. वन पैदावारको प्रयोगलाई पुरै व्यवस्थित गरिनेछ ।
ख.खाली भएका सरकारी जग्गामा व्यवसायिक प्रकृतिका विरुवा लगाइनेछ ।
ग. गोबर ग्याँस निर्माणमा पुरा अनुदानको व्यवस्था गरी वन पैदावारको प्रयोग र आयातित एलपी ग्याँस दुवैलाई निरुत्साहित गरिनेछ ।
घ. सामुहिक जडीबुटी खेति विस्तार गरिनेछ ।
११. फोहोर व्यवस्थापन:
क. प्लाष्टिकजन्य र सीसाजन्य फोहोर वडाले खरीद गरी बिक्री गर्ने व्यवस्था मिलाइनेछ ।
ख. धादिङबेसीको फोहोरलाई मल बनाउन प्रयोग गरिनेछ । यो देशकै नमूना योजना हुनेछ ।
ग. सडकमा फूलखेती तथा हरित विरुवा लगाई सुन्दर नगर विकास गरिनेछ ।
१२. उद्योग: वडामा निम्नानुसारका उद्योग तथा सेवाकेन्द्रहरु स्थापना गरिनेछ ।
क. केचअप उद्योग १ वटा ख. बधशाला १ वटा
ग. आलु कोल्ड स्टोरेज १ वटा घ. पशु ट्रेबीज २० वटा
ङ. तरकारी संकलन केन्द्र ९ वटा च. दुग्ध प्रशोधन केन्द्र १ वटा
छ. दुग्ध संकलन केन्द्र ९ वटा ज. पशु स्वास्थ्य केन्द्र १ वटा
१३. सामाजिक सुरक्षा:
क. केन्द्र सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गराइनेछ ।
ख. महिलाहरुको क्षमता बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. धार्मिक तथा मनोरञ्जन:
क. बाल उद्यान, बृद्ध आश्रम र धार्मिक स्थल निर्माण गरिनेछ ।
ख. प्रत्येक वर्ष बृद्ध बा आमाहरुलाई धार्मिक तिर्थ यात्रा गराइनेछ ।