काँग्रेस माओवादी केन्द्रको संयुक्त प्रचार अभियान सुरु

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०७४

धादिङ, बैशाख २३ गते । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा निर्वाचन प्रचार प्रसार कार्यक्रमहरु गर्न थालेका छन् ।

धादिङका अधिकांश नगर र गाउँपालिकामा चुनावी तालमेल गरेका दलहरुले प्रचारप्रसार पनि संयुक्त रुपमा गर्न थालेका हुन् । नीलकण्ठ नगरपालिकाको वडा नं ७ मा संयुक्त कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका तर्फबाट नीलकण्ठ नगरपालिकाका मेयर पदका उम्मेदवार भीमप्रसाद ढँगानाले परिवर्तनका लागि आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका दुई शक्तिबिचको समझदारीले एमाले लगायतका दलमा त्रास उत्पन्न भएको बताउनु भयो ।

ढुँगानाले माओवादी केन्द्रलाई लोकतन्त्रको पक्षमा उभ्याउन नेपाली काँग्रेसले खेलेको भूमिका स्मरण गर्दै भन्नुभयो, ’नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियासँगै लोकतन्त्रको पक्षमा उभ्याउनु भएको माओवादीसँग स्थानीय सरकार निर्माणका लागि सहकार्य हुनु स्वभाविक रहेको बताउनु भयो ।’

सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका तर्फबाट नीलकण्ठ नगरका उपमेयर मनराज भण्डारीले नेपाली काँग्रेस र माओवादी केन्द्रका बिच जिल्लाका अधिकांश स्थानमा सहकार्य गर्ने निर्णय भएकाले पार्टीको निर्देशन अनुसार मतदान गर्न अनुरोध गर्नु भयो ।

स्थानीय तहको निर्वाचनमा विकासप्रेमीहरुको जितका लागि काँग्रेस माओवादी मिल्नुको विक्लपन नरहेको बताउँदै भण्डारी हामीबिचको सहकार्यले संविधान निर्माण सम्भव भयो भने देश बनाउने जिम्मा पनि हामी दुई शक्तिका बिचमा रहेको बताउनु भएको थियो ।