माओवादीले जिते, स्थानीय तह गतिमा जान्छ

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ११, २०७४

शोषक सामन्ती राज्य सत्ताको अन्त्य गर्दै मुलुकमा गणतन्त्र भित्राउने महान् जनयुद्धको बेला धुनिबेशी नगरवासीको ठुलो वलिदानी पूर्ण सहभागिता रह्यो ।

माओवादीले २०५२ बाट जनयुद्ध घोषणा गरेर पार्टी भुमिगत भए लगत्तै २०५३ देखी नै यस नगरका केही व्यक्तिहरु देशलाई शोषक सामन्तबाट मुक्त गराई गणतन्त्र स्थापना गराउने अभियानमा संगठित हुन थाले २०५३ देखी नै वैकुण्ठ रेग्मी, क.रोशन, दिपक लामिछाने, क.सुबोध, राजन रेग्मी, क.निशान, रमेश आचार्य, बासु वास्कोटा, कृष्ण कुमार रेग्मी लगायतका व्यक्तिहरु संगठित भई यस नगर आसपासमा जनयुद्धको गतिविधि सुरु हुन थाले ।

मुक्ति युद्धमा होमिदै गर्दा क. वैकुण्ठ रेग्मी (रोशन) क. राजकुमार वास्कोटा (उदय) क.उमा नेपाल (ज्योती) क. सरला सापकोटा र क. संगिता ठकुरी ६ जनाले वलिदान दिनु भयो भने हरी आचार्य, हरी लुइटेल, नानिराम काफ्ले, विदुर रेग्मी, शिव सापकोटा, केदार कुँवर, राजकुमार मानन्धर, वैकुण्ठ भुजेल, दिवाकर लुईटेल, मुकुन्द सेढाई सहित दश जना राज्यद्धारा वेपत्ता वनाईएको छ ।

यस नगरबाट थुप्रै नागरिकले गणतन्त्र प्राप्त गर्नका निमित्त भएको महान् जनयुद्धमा प्रत्यक्ष रुपमा थुप्रै सहयोग गर्नुभएको कारणले पनि होला नजिकिदै गरेको स्थानिय तहको निर्वाचनमा कस्ता व्यक्तिलाई माओवादी केन्द्रबाट उम्मेदवारी दिन लगाईदै छ भनेर खुव चासोका साथ हेरी रहेको वेला कांग्रेस, एमाले आफ्ना उम्मेदवार टुङ्ग्याउन नसकि रहँदा माओवादी केन्द्रले भने नगर प्रमुख, उप प्रमुख वडा अध्यक्ष र सदस्यहरु सवैको टुङ्गगो लगाएर चुनावी अभियान समेत चलाई रहेको छ । हुन त यतिवेला धुनिबेशी क्षेत्रका नौबिसे, छत्रे देउराली र जिवनपुर मिलेर धुनिबेशी नगरपालिका बनि सकेको छ ।

यसै क्षेत्रमा थुप्रै उद्योग कलकारखाना पनि भित्रि रहेका छन् । तर नगरपालिकामा हुनुपर्ने पूर्वाधार बाँकी छन् तोप्लाङ, लिखु, गुरुदुम, थलि लगायतका गाँउमा अझै पनि मोटर बाटो पुग्न सकेको छैन भने धेरै गाँउमा खानेपानी, बिजुली बत्ति पुग्न सकेको छैन, स्वास्थको क्षेत्र पनि लथालिंग नै छ । चुनाव नजिकिदै गर्दा केही दल र कार्यकर्ताहरुमा सामान्य नागरीकलाई रक्सी, मासु खुवाउने पैसा दिने र प्रलोभनमा पार्ने खेलको पनि सुरुवात भएको छ । तर आम नगरवासी अबको चुनावमा निकै सचेत र वुद्धिमता पूर्ण ढंगले आफ्नो मतद्धारा नगरको जन प्रतिनीधि चुन्ने अवसरमा आम नगरवासी चुक्नु हुँदैन यतिबेला स्थानिय जनप्रतिनीधि स्थानीय रुपमै जनताको सबै खाले समस्या समाधान गर्ने सक्ने गरी अधिकार प्राप्त भएर चुनिदै गर्दा आम नागरीकले क्षणिक र विभिन्न प्रलोभनबाट प्रभावित बनेर मतदान गरियो भने तत्काल केही फाईदा देखिएला तर कालान्तरमा ठुलो पश्चातापमा पर्नु पर्ने छ ।

त्यसैले आम नगरवासीले युवा, जुझारु, सधै जनताको समस्यामा साथ दिने जनताले चाहदा भेट्न सकिने प्रतिनीधि चुन्ने कुरामा चुक्नु हुँदैन साथै हरेक चुनावमा पैसा र प्रलोभनमा पर्ने प्रचलनको अन्त्य भएको सन्देश आम धादिङबासीमा पु¥याउदै आम धुनिबेशी नगरवासीको छुट्टै पहिचान देखाउने कुरामा आम नगरवासी सचेत छन् र त्यो कुराको आगामी निर्वाचनको परिणामले देखाउने छ ।

राज्य यतिबेला स्थानिय तहको निर्वाचनमा होमिएको छ । सरकारको तर्फबाट गर्नु पर्ने काम तिब्र गतिमा भइै रहेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गराई संविधान कार्यान्वयन गराउन अहोरात्र खटिरहेको आभाष आम नेपालीलाई भैरहेका छ । सिंगो देश स्थानीय तहको निर्वाचनमा होमिएको हरेक निर्वाचनको चहल पहल धादिङमा अन्य जिल्लाको तुलनामा अलि अगाडी भित्रने गरेको छ । यस पटक हुन गईरहेको निर्वाचनको चहल पहल पनि धादिङमा अलि अगाडी नै सुरुवात भयो । धादिङको पनि धुनिबेशी नगरपालिकामा त चुनावको चहल पहल अन्य गाँउमा भन्दा अगाडि नै सुरु भएको छ ।

राजधानी काठमाण्डौं सँग जोडिएकोले होला यस नगरपालिकामा सरकार र राज्यले गर्ने हरेक गतिविधिको प्रभाव तत्काल नै भित्रिन्छ । अहिले चुनावले मुलुक ताति रहँदा माओवादी केन्द्र, एमाले, कांग्रेसको गतिविधि पनि धुनिबेशी नगरपालिकामा तिब्र नै बनेको छ । सुरु सुरुमा माओवादी केन्द्रका नेता कार्यकर्तामा देखिएको चुनावको रौनकले अहिले कांग्रेस एमालेमा पनि मज्जा संगै छोएको छ । अझ भर्खरै मधेसीे मोर्चा सँग सरकारले सहमति गरेपछि त चुनाव नहोलाकी भन्नेहरुमा समेत चुनावी रौनक छाएको छ ।

हुन त मुलुकमा २ वटा संविधानसभाको चुनावले चुनिएका सभासद्द्धारा निर्मित नयाँ संविधान अनुसार स्थानीय तहको निर्वाचन हुन गईरहेको छ । वैशाख ३१ नजिकिदै गर्दा दलहरुको गतिविधि तिव्र हुनु, उम्मेदवारहरु जोस गर्दै जानु, आफ्नो दलको धारणा, घोषणा पत्र सार्वजनिक हुँदै गर्दा यस नगरपालिकामा माओवादी केन्द्रको बारेमा आम नगरवासीमा अलि उत्सुकता साथ हेरिएको आभाष भै रहेको छ । लामो समयको जनयुद्ध सँगै २०६२÷०६३ को जनआन्दोलनमा मुख्य भुमिका खेल्न आम धुनिवेशी नगर वासीको अहम् भुमिका रह्यो । राजधानीको नाका भएकोले पनि होला यस नगरवासीले देशको हरेक महत्वपूर्ण परिवर्तनका वेला अलि गहन र महत्वपूर्ण भुमिका खेल्ने गरेका छन् ।

तसर्थ यो स्थानीय तह भन्ने संरचना माओवादीकै एजेण्डा हो । स्थानीय तह स्थानीय सरकार नै हो । अब जनताले आफ्नो घर आँगनबाटै सरकार सञ्चालन गर्न सक्ने भएका छन् । यी सबै परिवर्तनका एजेण्डा माओवादी केन्द्रको हो जनतालाई थाहा छ । परिवर्तनको प्रमुख साधक माओवादी भएकाले माओवादी केन्द्रले नेतृत्व गर्न सके मात्र नगर र गाउँपालिका गतिमा जान सक्छ ।