ठूलो बन्न होइन सेवक बन्न आफ्नो उम्मेदवारी: नारायण कुमार श्रेष्ठ

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १०, २०७४

नारायण कुमार नीलकण्ठ नगरपालिका बनेपछि नै सम्भावित उम्मेदवारका रुपमा चर्चा आएको नाम हो । विद्यार्थी अवस्थादेखि नेपाल विद्यार्थी संघमा आवद्ध रहनु भएका श्रेष्ठ धादिङ काँग्रेसमा सदैव प्रभाव राख्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजारमा २०२८ साल मंसिर १५ गते जन्मनु भएका श्रेष्ठ धादिङबेसी सदरमुकाम कायम रहेदेखि बीचबजारमा पुर्खेउली घरमा हुर्किनु भयो ।

राजनैतिक परिवारमा हुर्किनु भएका श्रेष्ठले प्रारम्भिक शिक्षा नीलकण्ठ माध्यमिक विद्यालयमा प्राप्त गर्नुभयो । विद्यार्थी समयमा २०४३ सालमा नीलकण्ठ माविको एकाइ अध्यक्ष, २०४६ सालमा नेविसंघ जिल्ला कार्य समितिको कोषाध्यक्ष हुदै नेपाली काँग्रेस जिल्ला कार्य समितिमा दुई पटक सदस्य, १२औँ र १३ औँ अधिवेशनबाट महाधिवेशन प्रतिनिधि बन्नु भएको थियो । राजनीतिसँगै सामाजिक सेवामा पनि उहाँको सम्लग्नता रहेको छ । श्रेष्ठ धादिङ निर्माण व्यवस्यायी संघको संस्थापक महासचिव हनुहुन्थ्यो ।

मध्यमाञ्चल निर्माण व्यवसायी संघको क्षेत्रीय कोषाध्यक्ष हुँदै हाल निर्माण व्यवसायी महासंघ केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठले धादिवेसी खानेपानी मूल उपभोक्ता समितिको १५ वर्षसम्म अध्यक्ष पदमा रही सफल कार्यकाल बिताउनु भएको थियो । उद्योग वाणिज्य संघ, धादिङको जिल्ला समिति सदस्य समेत रहिसक्नु भएका नेपाली काँग्रेसका युवा नेता नारायण कुमार श्रेष्ठ पुराना र नयाँ दुबै पुस्तालाई मिलाएर लैजान सक्ने खुबी भएका नेताका रुपमा चिनिनुहुन्छ ।

बाल्यकालदेखि सामाजिक तथा राजनैतिक भूमिकामा मात्र रहनु भएका श्रेष्ठ नीलकण्ठ नगरपालिकाको मेयर पदका प्रमुख दाबेदार हुनुहुनुहुन्छ । नेपाली काँग्रेसले विगतमा आफूले गरेको योगदानको उच्च कदर गर्नेमा उहाँ विश्वस्त देखिनु हुन्छ । शान्त र निडर स्वभावका श्रेष्ठ आफू नीलकण्ठ नगरपालिकाको मेयर बनिसकेपछि आम जनमानसको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रम लिएर आउने बताउनु हुन्छ । जिल्लाको मुटुका रुपमा परिचित नीलकण्ठ नगरपालिकाका बासिन्दामा नेपाली काँग्रेसले घोषणा गरेको एक घर एक रोजगार, प्रति व्यक्ति आम्दानीमा सुधार, घरेलु उद्योग सञ्चालनमा प्रोत्साहन, नगर क्षेत्रका सबै सडक कालोपत्रे, सबै विद्यालयमा आधुनिक शिक्षा पद्धति, जनताको पहुँच र गुणस्तरीयताको प्रतिक सामुदायिक क्याम्पस बनाउन आफू लागि पर्ने श्रेष्ठको भनाइ रहेको छ । लामो समयदेखिको स्थानीय निकायमा रहेको रिक्ततालाई पूर्ति गर्दै सुशासन, पारदर्शी कार्य प्रणाली र वास्तविक न्यायप्रणाली स्थापना गर्न आफू सदैव क्रियाशील रहने श्रेष्ठले बताउनु भयो ।

नगर क्षेत्र भएर पनि नगर पालिका भित्र अत्यन्त विकट वस्ती रहेको बताउँदै श्रेष्ठले सबैलाई नगर क्षेत्रको बासिन्दा भएको प्रत्याभूति आफ्नो कार्यकालमा गराएर छाड्ने बताउनु भयो । त्यसका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार लगायतका क्षेत्रमा नवीन योजना अगाडि सार्ने श्रेष्ठ बताउनु हुन्छ । विकासमा सबैको समान पहुँच स्थापना गरी असहाय, दलित, जनजाति, निमुखा, अपांगका क्षेत्रमा कार्य गर्न आवश्यक देखेको श्रेष्ठको भनाइ छ ।

भूकम्पले थिलथिलो बनेका घर, शिक्षालय, धार्मिक स्थल, सरकारी निकायका भवन पुननिर्माण देखि विकासका पूर्वाधारमा भूकम्पले पारेको प्रभावलाई कमी ल्याउन भूमिका आवश्यक रहेको श्रेष्ठको बुझाइ छ । नेपाली काँग्रेसको घोषणा पत्र, स्थानीय स्तरमा बन्ने प्रतिवद्धता पत्रमा उल्लेखीत कार्य कार्यकालभित्र गर्ने श्रेष्ठले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नगरक्षेत्र भित्र नेपाली काँग्रेसका सयौँ नेताहरु मेयर पदका लागि योग्य र सक्षम रहेको बताउँदै श्रेष्ठले आफूले टिकट पाउनु, टिकट पाएपछि जित्नु हरेक नगरवासीको देनको रुपमा आफूले बुझ्ने बताउनु हुन्छ । आफू जित्नका लागि नभइ नयाँ नगरपालिका सम्पूर्ण विकासमा भूमिका निर्वाह गर्नका लागि एक सेवकका रुपमा आफू जनतामाझ अनुमोदित हुन लागि मेयर पदको आकांक्षी बनेर प्रस्तुत भएको श्रेष्ठको भनाइ रहेको छ । (नेपाली काँग्रेस तर्फबाट मेयर पदका उम्मेदवारका आकांक्षी नारायण कुमार श्रेष्ठसँगको कुराकानीमा आधारित)