धादिङ बैशाख १० । सत्तारुढ दल राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले दलहरुबीच वैशाख ३१ गते पहिलो चरणको तथा जेठको अन्त्यसम्म दोस्रो चरणको निर्वाचन गर्ने सहमति बनेको बताउनु भएको छ।
ढिलोमा जेठ ३१ गतेसम्म दोस्रो चरणको निर्वाचन गर्ने र त्यसका लागि निर्वाचन आयोगमार्फत समन्वयको वातावरण मिलाउने सहमति भएको छ, तामाङले भन्नु भयो ।
राष्ट्रिय जनता पार्टीका नेता केशव झाले पनि प्रदेश नम्बर १,२,५ र ७ को चुनाव जेठ अन्त्यसम्म तथा ३,४ र ६ को चुनाव वैशाख ३१ गते नै हुने सहमति बनेको बताउनु भयो। सरकारले आज नै मन्त्रीपरिषद् बैठकबाट संविधान संशोधनमा हुने परिमार्जनबारे निर्णय लिनेछ ।
सत्तारुढ दल र मधेसी मोर्चाबीच शनीबार २ चरणमा निर्वाचन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दल र मधेसी मोर्चाबीच सहमति जुटे सँगै स्थानीय तहको चुनाव २ चरणमा हुने भएको हो ।