टूरिष्ट उम्मेद्वारको पक्षमा

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ८, २०७४

Laxman Sharma ।
५२/५३ तिरै कक्षा ८ होला पढ्दा पढ्दै किस्ने स्कूल जान पाएन। प्रस्तावित स्कूल, फीस तिर्नुपर्ने बाउले जुटाउन सकेन। जुटोस् पनि कसरी, थियो नै के र, ज्याला गरेर पाल्नुपर्ने ६ जनाको जहान, बा-है महिना। सरसापट पनि गर्न सकेन र छोड्यो पढाई। सामन्ती व्यवस्था यस्तै हो भनेर किस्नेले चित्त बुझायो ।

-तीन महिना पछि किस्ने शहर पस्यो । पेट पाल्नलाई, गर्नुपर्ने काम मेसैसंग गर्दै गयो।टेम्पू खलासी देखि भारी बोक्ने जाबो त जसले पनि गरे कै त हो । बेईमानी फट्याई गरेन अरु सबै गर्यो । साठीसाल तिर एउटा कम्पनिमा काम पायो । त्यहिँ काम गर्ने पूर्व तिरकी साथीसंग घरजम पनि गर्यो। दुबैले खूब मेहनत गरे। डिभी परेको छोराले झिकाएर साहूका परिवार सबै अमेरिकातिर लाग्दा वर्षको ५ लाख बुझाउने शर्तमा सानो घर सहित त्यो कम्पनि सबै उही कृष्ण बहादुरलाई जिम्मा लगाएछन् । जाबो ५ लाख त उसले दुई महिनामा नै तिर्थ्यो ।

– स्कूलमा पढ्दा साथीहरुसंग एउटा पार्टीको सभामा गएको थियो । कुरा चित्त बुझेर बाउलाई पनि सुनाएको थियो। गाउँले सबै त्यसमा नै थिए रे। चुनावमा भोट हाल्न मनाएको थियो। काठमाण्डौमा पनि टूँडिखेलमा सभाहरुमा गएको थियो ।

– ०६४ को संविधानसभाको चुनावमा उसको कम्पनिमा नै नै काम लिन उसको क्षेत्रको पार्टीको उम्मेद्वार आएकाथिए। काम त गर्दे तर उनले चुनाव हारे । सम्पर्क भयो। सम्पर्क मँचले खोज्यो । बैठकमा जान थाले । पर्दा मर्दा गाउँलेको लागि अस्पताल आर्यघाट त गइरहन्थे, अब जिल्ला कै लागि पनि जानु परिगो ।

– उसको गाउँ उस्तै छ । केटाहरुसबै विदेश । स्कूल बाटो धारो चौतारो नाम मात्रको, झन् परार सालको भूईंचालोले सखाप। अझ पहिलेका सोझा मान्छेको बानी व्यवहार बिग्रेको जस्तो लाग्छ । सामाजिक पैसा पनि मिलेर मास्न थाले रे ।

– अस्ति गाउँपालिकाबाट उम्मेद्वार सिफारिस गर्ने दिनको केन्द्रको बैठकमा ऊ पनि आएको थियो। आफ्नै गाडि भए पछि के भो र । लामो छलफल भयो टुंगिएन । वडाको नाम वडा कमिटीले सिफारिस गर्ने निर्णय भएपछि गाउँसम्म पुग्यो । बेलुका गाउँले सबै जम्मा पारेर, हामीले पाउने एउटा सदस्यमा कसलाई उठाउने सल्लाह गरौं भनेर बोलाको भनेर कुरा सुरु भयो ।

– सबैले राय दिए, तीन चारवटा नाम आयो । कोहीले किस्ने कै नाम पनि लिए । सोधियो । यसपाली मैले पनि रहर त गरेको हो भन्यो रे किस्नेले । अरुले बोलेनन् रे । नातामा ठूलो बाऊ पर्ने पूराना वडाध्यक्षले त मुखै फोरेछन्, हेर किस्ने तँलाई त टूरिस्ट किस्ने भनेर भोटै दिँदैनन् ।

– भोली पल्ट बिहानै गाउँबाट झरेको किस्नेले मलाई गाडि रोकेर शडकछेउमा उभिएको देखेछ, जाऊँ सर भनेर कलंकी पुर्याईदियो । बाटो भरी यही कथा सुनायो, गाडीबाट झर्ने बेलामा भिजिटिँग कार्ड दियो । पाँच वर्षमा गाउँमा खटेर गर्ने कामको बारेमा बतायो ।

– त्यसपछि के भयो थाहा छैन। तपाईंहरु कता कता लाग्नुभयो कुन्नी । म त टूरिस्ट किस्ने अर्थात मेनेजिंग डाइरेक्टर केबि मगरको पक्षमा छु।