म्यादी प्रहरीको सुविधाः ५१ हजार तलब, २ लाखको वीमा

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ७, २०७४

धादिङ बैशाख ७ । मन्त्रिपरिषद बैठकले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् ।

एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ । ५५ दिनको बिशेष वीमा स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ ।

निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना वीमा गर्ने निर्णय गरेको हो । निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति पाउनेछन् । यस्तै उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्ने छ । तस्वीर हरिहर राठौर