बैशाख ३१ मा नै निर्वाचन हुन्छ -केसी

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ६, २०७४

धादिङ, बैशाख ६ गते । सहरी विकास मन्त्री अर्जुन नरसिँह केसीले बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुनेमा कुनै विवाद नरहेकाले निश्चिन्त हुन आग्रह गर्नु भएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला धादिङले ४८ औँ स्थापना दिवसमा आयोजना गरेको सम्मान तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले सबैलाई समेटेर तोकिएको समयमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका सहरी विकास मन्त्री केसीले मधेशलाई बिर्सिएर नेपाली काँग्रेस अगाडि नबढेको बताउँदै भन्नुभयो, ‘काँग्रेसले महत्वपूर्ण अधिकांश आन्दोलनको सुरुवात मधेशबाट गरेको छ, मधेश काँग्रेसको मुख्य आधार इलाका हो, मधेशलाई काँग्रेसलाई कहिल्यै भुल्न सक्दैन ।’
मन्त्री केसीले मधेशका समस्यायुक्त क्षेत्रमा केही दिन पछाडि निर्वाचन गराएर भएपनि बैशाख ३१ मा नै निर्वाचन हुनेमा निश्चिन्त हुन सबैलाई आग्रह गर्नुभयो । केसीले मधेश र पहाडका नाममा छुट्याएर भने निर्वाचन गर्न नहुने बताउनु भयो ।

नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई स्थानीय तहको नेतृत्वका लागि तयार रहन आग्रह गर्दै त्यसका लागि आफूभित्रको मनमुटावलाई त्याग्नु पर्ने बताउनु भयो । काँग्रेसभित्रको एकता भयो भने कुनै पनि दलले काँग्रेसलाई चुनौति दिनै नसक्ने र विपक्षीहरुले बुढो हात्तीको उपमा दिएको प्रति व्यंग्य गर्दै नेता केसीले भन्नुभयो, ‘काँग्रेस हिँजो नि हात्ती थियो, भोलि नि हात्ती नै रहन्छ, मुसो जति मोटाएपनि हात्ती हुन सक्दैन ।’

पार्टीभित्र पक्रिया, पद्धति र प्रवृत्तिविच समन्वय हुनु आवश्यक रहेकोमा पनि मन्त्री केसीले जोड दिनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न क्याम्पसमा नेविसंघका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमला, काँग्रेस नेताहरु रामनाथ अधिकारी, हरि अधिकारी, बासु तिमल्सेना, युवा नेता भीम ढुङ्गाना नेविसंघका जिल्ला अध्यक्ष ईश्वर अधिकारी लगायतले स्थानीय तहको निर्वाचनमा विद्यार्थीहरुको भूमिका विषयमा मन्तव्य राख्नु भएको थियो ।