धादिङ बैशाख ५ । स्थानीय चुनाव नजिकँदै गर्दा धादिङमा नेपाली काँग्रेस माओवादी केन्द्र बीच तालमेल हुने हल्ला चर्चामा छ । तालमेलको लागि यी दुई पार्टीका जिल्ला हेडक्वाटर पटक-पटक वैठक बसिसकेको छन् । नेताहरु दुईपार्टी तालमेल गरेर जने सहमति नजीक पुगेका छन् । तर पार्टी भित्रका लाईन सघर्ष र उम्मेदवार आकाँक्षीहरु व्यवस्थापन साथै उम्मेदवारी बाँफाडमा सहमति गर्न सकि रहेका छैनन् । आज एक अनलाईन मार्फत यी दुई पार्टीका अध्यक्षहरुले तालमेल गरेर जान लागेको भनाई सार्वजनिक गरेका छन् ।
उनीहरुको भनाई
रमेश धमला
‘माओवादीसँग तालमेल गर्ने विषयमा होमवर्क भइरहेको छ,’ सभापति धमलाले भने, ‘स्थानीय आवश्यकता हेरेर सहकार्य गर्नेगरी छलफल अघि बढेको छ।’ पार्टीको भूमिका बलियो बनाउने उद्देश्यले नै सहकार्यको कुरा उठेको उनी बताउँछन्। ‘राजनीतिमा हरेक कुराको सम्भावना रहन्छ,’ धमलाले भने, ‘जिल्लामा दुवै पार्टीको भूमिका बलियो बनाउनुपर्छ भन्ने बुझाइले तालमेलको प्रयत्न भइरहेको हो।’ यद्यपी हस्ताक्षर नहुँदासम्म यसै भन्न नसकिने उनी बताउँछन्। ‘छलफल सकारात्मक रहे पनि हस्ताक्षर नभएसम्म यसै भन्न सकिन्न,’ धमलाले भने, ‘राजनीतिमा सम्भावना भन्ने कुरा एक प्रतिशतबाट बढेर सय र सयबाट घटेर एक प्रतिशत हुन बेर लाग्दैन।’
शालिकराम जम्कट्टेल
माओवादी केन्द्रका जिल्ला अध्यक्ष शालिकराम जम्कट्टेलले पनि सहकार्यका लागि कांग्रेससँग छलफल चलिरहेको बताउँछन्। ‘सकेसम्म तालमेल गर्ने भन्ने सोच हो, तै पनि कतिपय अप्ठ्याराहरु छन्,’ जम्कट्टेलले भने, ‘पहिले सैद्धान्तिक हिसाबले सहमति गर्ने गरी छलफल चलिरहेको छ।’ अहिले दुवै पार्टीले स्थानीय तहमा कार्यकर्ताको मनोभावना बुझ्ने काम गरिरहेको उनले जानकारी दिए। ‘हामी अहिले स्थानीय तहका जनता र कार्यकर्ता के चाहन्छन् भनेर मनोविज्ञान बुझिरहेका छौँ,’ जम्कट्टेलले भने, ‘हालसम्म यतिउति लिने भन्ने विषयमा कुरा भएको छैन।’