धादिङबेसी चैत्र २७ । धादिङबेसीमा ५ दिन अघि देखि सुरुभएको समाचार लेखन तथा रेडियो उद्घोषण तालिम सम्पन्न भएको छ ।
जिल्लामा छरिएर रहेका पत्रकारीतामा रुचिभएकाहरुलाई कलेज अफ इन्फरमेसन टेक्नोलोजी धादिङबेसीले आयोजना गरेको ५ दिने तालिम आज समापन गरिएको हो ।
तालिम समापन गर्दै माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले राज्यको चौथो अंगको रुपमा हेरिएको पत्रकारीता समाज परिवर्तनमा महत्वपूर्ण अंगको रुपमा रहेको बताउनु भएको थियो । उहाँले १९ वर्ष पछि हुन लागेको स्थानिय चुनाव त्यसमा सिंहदरवारको अधिकार जनताको घरघरमा पुर्याउने गरि यस्तो संवेदनशिल विषयलाई माओवादी एजेण्डा थियो भन्न पत्रकारलाई के को डर खुलेर लेख्नुस् यथार्तता, गर्नुस भण्डाफोर गलत प्रवृतिका विरुद्ध र हिजो जनयुद्ध होस् या मधेस र समग्र जनआन्दोलन पत्रकारका भुमीका कै कारण सफल भएको बताउदै भण्डारीले अब चुनाव सम्पन्न गर्न जनता जागरुक हुने ढंगले कलम चलाउन आग्रह गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा विशेष अतिथि प्रेस सेन्टर धादिङका अध्यक्ष नारायण सिलवालले पत्रकारलाई यो चुनावकोबेला जुनकुनै दलले पनि आफ्नो प्रचार कर्ता बनाउन चाहाने हुँदा यस तर्फ सचेत बनी प्रेस स्वतन्त्रता र आचार संहितालाई पूर्ण रुपमा पालन गर्न आग्रह गर्नुभएको थियो ।
समापन कार्यक्रममा तालिममा सहभागिहरुले सिकाइको अनुभुति र पत्रकारीता प्रतिको रुचि राखेका थिए । आयोजक संस्थाका प्रमुख विमल तामाङले ०६८ सालमा स्थापना भएको यस कलेज अफ इन्फरमेसन टेक्नोलोजीले पहिलो पटक यस्तो तालिम गरेको र सहभागिहरुको उत्साहाले यस्ता तालिमहरु संचालन गर्न थप उत्साहा मिलेको बताउनु भएको थियो । यस संस्थाले धादिङबेसीमा विभिन्न तह र विषयमा कम्प्युटर सिकाउदै आएको छ ।