मृत्युदर न्युनिकरणको लागि धादिङमा प्रसुति प्रतिक्षालय निर्माण गरिने

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २७, २०७३

धादिङ चैत्र २७ । सुरक्षित मातृत्व तथा नवजात शिसुहरुको बचाउको लागि प्रेषण सेवाको सुदृढिकरण परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यलय धादिङ र नेपाल जनस्वास्थ्य संघ नेफाको आयोजना, युनिसेफ नेपालको सहयोग तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाको समन्वयमा सम्पन्न भएको हो ।

शनिबार आयोजित उक्त कार्यक्रममा मातृ मृत्युदर तथा शिसु मृत्युदर न्युनिकरण गर्नको लागि परियोजनाले गरेको काम र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । प्रत्येक वर्ष ५ लाख ८० हजार मातृ मृत्युदर हुने मध्ये ९९ प्रतिशत विकासोन्मुख देशमा हुने गरेको तथ्याङ्कले देखाएको छ ।

मातृ शिशु मृत्युदर न्युनिकरणको लागि धादिङ जिल्लामा ३ वटा प्रसुति प्रतिक्षालय घर निर्माणको योजना रहेको छ । प्रसुति प्रतिक्षालय घर गर्भवति महिला जो महिना पुगेको तर बच्चा नजन्माई सकेको आमा र बच्चालाई स्वास्थ्य सुरक्षाको लागि सहज बनाउने उदेश्यले निर्माण गर्न लागिएको हो ।

जनस्वास्थ्य कार्यलय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्ड डा. रसिला अमात्यको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा धादिङका विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो ।